बैतडीको पुरचौंडीकी पूर्व उपप्रमुखले पनि फिर्ता गरिनन् जिन्सी सामान
धनगढी: बैतडीको पूरचौंडी नगरपालिकाका पूर्व नगर उपप्रमुख जानकी ऐर बमले नगरपालिकाबाट बुझेको जिन्सी सामान फिर्ता नगरेको खुलेको छ। स्थानीय निर्वाचन भएको तीन महिना पूरा हुन लाग्दासमेत पूर्व उपप्रमुखले नगरपालिकाबाट बुझेको जिन्सी सामग्री फिर्ता नगरेकी हुन्।
नगरपालिकाको जिन्सी शाखाबाट उपप्रमुखमा निर्वाचित भएपछि व्यक्तिगत प्रयोगका लागि नगरपालिकाबाट बुझेका सामान उपप्रमुखबाट हटेपछि फिर्ता नगरेको पाइएको हो। पूर्व नगरउपप्रमुख ऐर बमले खटिया टेलिभिजन, ल्यापटप, सोफालगायतका ३४ किसिमका जिन्सी सामान शुक्रबारसम्म नगरपालिकाको जिन्सी शाखामा दाखिला नगरेको जिन्सी शाखा प्रमुख उत्तमबहादुर विष्टले दिनरेशखबरलाई बताए।
पूर्व उपप्रमुख ऐर बमले जिन्सी शाखाबाट बुझेको ग्याँस सिलिण्डर २ थान, चुलो १ थान, २ वटा स्मार्ट फोन, ५ थान सोफासेट, २ थान स्टिल दराज, १ थान टिभी, २ थान पलङ, २ थान टि टेवल, एक थान ल्यापटप, १३ थान प्लाष्टिक कुर्सी, १ थान भाडा राख्ने र्याक लगेकोमा उपप्रमुखबाट हटे पनि यी सामान फिर्ता गरेकी छैनन्।
यस्तै कासाको थाल ५ थान, ८ थान कचौरा, ८ थान गिलास, १ थान तामाको जग, ३ थान प्रेसर कुकर, २ थान कराइ, १ थान फ्राइप्यान, २ थान लोटा, १ थान डिस होम सेट, ४ थान सोलार प्यानल, २ थान व्याट्री, १ थान इन्भर्टर, १ थान पराद, १ थान चौकी(वेलन, १ सेट डाडु(पन्यु, १ थान ठुलो टेवल, ५ थान स्टिल थाल, ४ थान चम्चा, गलैँचा २ थान, ओछ्याउने कपडा सेट ४ थान, र दुई कोठामा लगाएको कार्पेट पनि पूर्व उपप्रमुखले फिर्ता नगरेको पाइएको हो।
जिन्सी शाखा प्रमुख उत्तरबहादुर विष्टले पूर्व उपप्रमुख ऐर बमलाई मौखिक रुपमा जिन्सी सामान फिर्ता गर्न भनेको तर अहिलेसम्म जिन्सी शाखामा दाखिला नगरेको दिनेशखबरलाई बताए। २०७४ मा नेकपा माओवादीबाट निर्वाचित भएकी ऐर बम अहिले भने नेकपा एमालेको नेता हुन्।