सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वनकै अध्यक्ष काठ कटानमा सक्रिय, ‘सेटिङ’मा आफैंलाई कारबाही

२०७९ साउन १७, ०६:३१ रोशन भट्ट

धनगढीः गत जेठ २८ गते आएको हावाहुरीले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का केही स्थानीयको घरमा क्षति भयो।  उपभोक्ताहरुको घरमा क्षति भएपछि निराजन सामुदायिक वनले मर्मतका लागि काठ वितरणको योजना बनायो। विपद् व्यवस्थापनका लागि काठ कटान गर्नुपर्ने भन्दै वनका अध्यक्ष चेतराम चौधरीले डिभिजन वन कार्यालयसँग अनुमति मागे। 

सामुदायिक वनको विधान अनुसार विपद्का नाममा ३५ देखि ५० क्यूफिट मात्रै काठ कटान गर्न पाइने प्रावधान छ। तर वनका अध्यक्षले बहुमत सदस्यालाई सम्मेलित गरी विधान विपरीत ६ सयभन्दा बढी क्यूफिटका काठ कटान गरेको वनका उपाध्यक्ष नरबहादुर कामीले बताए। ‘नियमले तोकेभन्दा बढी काठ कटान भएको छ। अध्यक्षले राजीनामा दिनुपर्छ। उहाँले बहुमत बनाएर आफैलाई कारबाही गर्ने निर्णय गरे,’ उनले भने।

सामुदायिक वनले विधान विपरीत नियमले तोकेभन्दा बढी काठ कटान गरेपछि विवाद सिर्जना भएको छ।  सव–डिभिजन वन कार्यालय मसुरियाले पनि उक्त विवादलाई साम्य पार्नका लागि छानविन समिति पनि गठन गरेको थियो। उक्त छानविन समितिले बढीमा ५० क्यूफिट काठ कटान गर्न पाइने भएपनि ६ सयभन्दा बढी क्यूफिट काठ कटान भएको प्रतिवेदनमा देखाएको छ। 

त्यसपछि समितिका पदाधिकारीले अध्यक्ष चौधरीको राजीनामा मागेका थिए। तर, अध्यक्ष चौधरी राजीनामा दिन तयार छैनन्। उनले उल्टै आफ्नै अध्यक्षतामा बसेको बैठकले आफैलाई कारबाही गर्ने निर्णय गरेका छन्। 

कारबाहीबाफत उनले ३ लाख ८३ हजार वनलाई बुझाउनुपर्ने हो। तर यसअघि नै उक्त सामुदायिक वनले रञ्जना ट्रेडर्सबाट ६ लाख रुपैयाँ ऋण लिएको देखाइएको छ। सो ऋण मध्ये ३ लाख ८३ हजार अध्यक्ष चौधरीले तिर्ने निर्णय भएको छ। उक्त ट्रेडर्स अध्यक्ष चौधरीकै श्रीमतीको नाममा रहेको वनका उपाध्यक्ष कामीले बताए। ‘६ लाख ऋण लिएकोमा २ लाख ६५ हजार तिरेको देखिन्छ। बाँकी अध्यक्षले आफैले प्रयोग गरेका छन्। झाडी सफाइ गर्नेले पनि ज्याला पाएका छैनन्,’ उनले भने। 

निराजन सामुदायिक वनमा अवैध रुपमा रुप कटानी भएको विषय सव–डिभिजन मसुरिया र डिभिजन वन कार्यालय धनगढीलाई प्रष्ट रुपमा जानकारी छ।  सामुदायिक वनले अध्यक्षलाई कारबाहीस्वरुप जरिमाना तिराएको भएपनि वन कार्यालयले भने उनलाई कारबाही गर्न बेवास्ता गरेको छ।

डिभिजन वन कार्यालय धनगढीले सव–डिभिजन कार्यालय मसुरियालाई काठ कटान सम्बन्धी थप छानविन गरेर रिपोर्ट बुझाउन भनेको छ। उक्त रिपोर्ट प्राप्त भएपछि अध्यक्ष चौधरीलाई थप कारबाही गर्ने प्रक्रिया सुरु हुने दाबी डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख पूर्ण यादवको छ।  ‘सामुदायिक वनले कारबाही गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘हामीले थप छानविन रिपोर्ट मागेका छौं। त्यो रिपोर्ट आएपछि थप कारबाही प्रक्रिया सुरु हुन्छ।’

नियमले तोकेभन्दा बढी काठ कटान गर्ने अध्यक्ष चौधरीलाई पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस