सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्ने क्रम डरलाग्दो

२०७९ साउन १७, ११:१२ रोशन भट्ट

धनगढीः गत शुक्रबार साँझ कैलालीको एक विद्यालयमा विद्यार्थी मृत फेला परिन्। जिल्लाको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा  कक्षा १० मा अध्ययनरत हिमानी बिष्ट मृत भेटिएकी हुन्। उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्।

साउन १२ गते बाजुराको एक छात्रवासमा पनि एक विद्यार्थीको शव फेला पर्यो। बुढीगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माध्यमिक विद्यालयको छात्रवासमा बुढीगंगा–७ बस्ने २१ वर्षीय नविन खड्को शव फेला परेको थियो। उनी कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए। खड्का उक्त विद्यालयमा प्राविधिक वन विज्ञान अध्ययन गर्दै आएका थिए।

केही समय अगाडि बाजुरामै एक युवती पनि मृत भेटिएकी थिइन्। प्रेमीसँग विवाद हुँदा जिल्लाकै एक जंगलमा ती युवतीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। गत असार १७ गते पनि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत कञ्चनपुरकी एक किशोरी पनि मृत फेला परिन्।

कञ्चनपुरको बेलौरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको थियो। उनले आत्महत्या गरेको भनाई प्रहरीको थियो। उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्यनरत थिइन्। 

प्रहरीका अनुसार किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण प्रेममा धोका पाउनु रहेको छ। विभिन्न घटनाको अनुसन्धान गरेको प्रहरीले प्रेममा धोका पाएपछि किशोरकिशोरीले आत्महत्याको बाटो रोज्ने गरेको निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले प्रेममा धोका पाएका कारण कतिपयले प्राण त्याग्ने गरेको बताए। ‘किशोरा अवस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण नै प्रेममा धाका हो,’ उनले भने, ‘हाम्रो अनुसन्धानले पनि प्रेम सम्बन्धकै कारण अत्महत्या हुने गरेको देखाउँछ।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस