सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रैमासिक परीक्षा आयो, तर सुदूरपश्चिमका विद्यार्थीले पाएका छैनन् पाठ्यपुस्तक

२०७९ साउन १६, ११:४९ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा शैक्षिक सत्र सुरु भएको तीन महिना हुँदैछ। तीन महिनामा पहिलो त्रैमासिक परीक्षासमेत सञ्चालन हुन्छ। तर, सुदूरपश्चिम पाठ्यपुस्तकको अझै अभाव छ। हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिममा पाठ्यपुस्तकको अभाव भएको हो। 

जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि साउन १५ गतेसम्म सुदूरपश्चिममा पाठ्यपुस्तकको व्यवस्थापन हुन सकेको छैन। किताब नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएका धनगढीको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक गणेशराज भट्टले बताए। ‘अहिलेसम्म विद्यार्थीको हातमा पुस्तक पुगेको छैन। परीक्षा सञ्चालन गर्नुपर्ने समय आउँदैछ। अब कसरी परीक्षा सुरु गर्ने ?’ उनले भने। 

सामुदायिक विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रको हो। केन्द्रले सुदूरपश्चिमका सबै सामुदायिक विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको थियो। तर साउन आधा हुँदापनि प्रदेशलाई आवश्यक पर्ने पुस्तकको आपूर्ति भएको छैन।

यस वर्ष २२ लाख बढी पुस्तक वितरण गर्नुपर्ने जिम्मेवारी जनक शिक्षा सामग्रीसँग छ। तर, तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामासमेत पुस्तक नपुगेको डोटीका शिक्षक भोजराज शर्माले बताए। ‘स्थानीय तहको चुनाव र कोरोना प्रभावको बहाना बनाएको देखिन्छ। यसमा सरकार नै गम्भीर नबनेको मेरो बुझाइ हो,’ उनले भने। 

विगतका वर्षहरुमा कतिपय विद्यालयका विद्यार्थीले शैक्षिक सत्र सकिँदा पनि पुस्तक पाएका थिएनन्। यस वर्षपनि सोही अवस्था सिर्जना हुने आशंका गरिएको छ। जनक शिक्षा सामग्री केन्द्रले भने, स्थानीय तहको चुनाव र कागज अभावका कारण पुस्तक छाप्न ढिलाई भएको दाबी गरेको छ।

अहिलेसम्म ९५ प्रतिशत पुस्तक वितरण गरेको दाबी जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिमका निर्देशक ध्रुवराज पन्तको छ। ‘हामीले ९५ प्रतिशत पुस्तक वितरण गरिसकेका छौं,’ उनले भने, ‘अब बाँकी पुस्तक यसै महिनाभित्र उपलब्ध हुन्छ।’

विगतका वर्षहरुमा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने गरेको थियो। यस वर्ष भने जेठबाट मात्रै कक्षा सञ्चालन भएका थिए। अहिले सुदूरपश्चिमका विद्यालयहरु त्रैमासिक परीक्षा सञ्चालन गर्ने तयारीमा छन्। तर आम विद्यार्थीले भने पूर्णरुपमा पुस्तकसमेत पाएका छैनन्।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस