बस्न बाध्य बनाउने ‘घोडाघोडी जंगल रिसोर्टमा’ के छ ?
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीबाट ३५ किलोमिटर पश्चिम गएपछि घोडाघोडी ताल पुगिन्छ। पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन्।
करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ। तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ। घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन्।
घोडाघोडी ताल सुखड बजार क्षेत्रमा रहेको छ। सुखड बजार पुग्नभन्दा पहिले एउटा जंगल पार गर्नुपर्छ। त्यही जंगल पार हुने विन्दुमा पूर्वपश्चिम राजमार्गमा जंगलसँगै जोडिएर बनेको छ एउटा रिसोर्ट। घोडाघोडी जंगल रिसोर्ट।
परम्परागत होटल र रेष्टुरेन्टहरू मात्रै रहेको पर्यटकीय क्षेत्र घोडाघोडीमा अहिले घोडाघोडी जंगल रिसोर्ट थपिएपछि त्यहाँको माहोल नै फेरिएको छ। पूर्वपश्चिम राजमार्गको उत्तरमा रहेको रिसोर्टले बाटोमा हिँड्ने जोकोहीलाई रिसोर्टअघि पुगेपछि गाडीको ब्रेक लगाउन बाध्य बनाउँछ। रिसोर्टको ‘डेकोरेशन’मा मात्रै २ करोड ३० लाख खर्च भएको छ।
उक्त रिसोर्टका सञ्चालक हुन् सुरेन्द्र शाही। सुखड होटल व्यवसायी संघका अध्यक्ष समेत रहेका उनी होटल व्यवसायसँगसँगै उर्जा क्षेत्रमा पनि लगानी बढाउँदैछन्। समाजसेवामा सक्रिय शाहीले हालै मात्र सञ्चालनमा ल्याएको घोडाघोडी जंगल रिसोर्टमा यतिबेला आन्तरिक आगन्तुकले भरिभराउ छ। आन्तरिक एवं वाह्य पर्यटकको बसाई लम्ब्याउन सुविधासम्पन्न रिसोर्ट विश्वरामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक शाही बताउँछन्।
‘सुर्खेतदेखि काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरदेखि झापासम्मका व्यक्ति रिसोर्टमा आउने गरेका छन्। आन्तरिक आगन्तुक यति धेरै आउँछन कि सही समयमा सही क्षेत्रमा लगानी गरेको अनुभूति भइरहेको छ’ उनले भने।
रिसोर्ट गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो। सुरुवाती ४ महीनामा सेवाग्राहीको उत्साहजनक उपस्थितले लगानीकर्तालाई उत्साहित बनाइरहेको छ। १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको रिसोर्टले त्यहाँ खपत हुने स्थानीय उत्पादन गाउँघरबाटै खरिद गरेर कृषकहरूलाई अप्रत्यक्षरूपमा आम्दानीसँग जोडेको छ।
भीआइपी पाहुना आउँदा स्थानीय स्तरमा पाइने दाल, भात, तरकारी खुवाउने रिसोर्टले स्थानीय पाहुनालाई भने मःम, पिजा लगायतका घरमा नपाक्ने परिकार बनाएर दिने गरेको छ। समयक्रमले मानिसलाई स्थानीय उत्पादनतर्फ तानिरहेको छ। जसले सधैं जे खाइरहेको हुन्छ उसले त केही नयाँ खानेकुरा खोज्छ। त्यसका लागि नयाँपन दिने काम रिसोर्टले गर्दै आएको छ।
रिसोर्टमा ५ ओटा भीआईपी र ४ ओटा डिलक्स कोठा छन्। यस्तै १५० जना अट्ने क्षमताको भीआईपी मिटिङ हल रहेको रिसोर्टमा एक सयभन्दा बढी क्षमताको रुफटप रेष्टुरेन्ट पनि छ। हरेक शुक्रवार लाइभ म्यूजिकको मजा लिन पाइने रिसोर्टको मुख्य विशेषता भनेको शान्त वातावण र जंगल भ्यू हो। एकपटक शान्त ठाउँमा आराम गर्न चाहनेका लागि घोडाघोडी जंगल रिसोर्ट एउटा राम्रो विकल्प बनेको छ।
रिसोर्टमा आउने पाहुनालाई रिसोर्टकै गाडीमा राखेर घोडाघोडी ताल घुमाउने गरिएको छ। घोडाघोडी तालका अलावा नजिकै रहेका चिडिया ताल र ओजुवा तालमा पनि पाहुनालाई घुमाउने गरिएको छ।