सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १५ मा किन खाइन्छ खिर ?

२०७९ साउन १५, ०३:०४ रक्षा भट्ट

धनगढीः आज साउन १५ अर्थात खिर खाने दिन। आजको दिन घरघरमा खिर पकाउँदै खाएर मनाउने गरिन्छ। कुनै धार्मिक महत्त्व नभए पनि परम्परागत रुपमा आजको दिनलाई विशेषगरी खिर खाएर मनाउने गरिएको सँस्कृतविद् पदमराज जोशीले बताउँछन्। 

उसो त साउन महिनाभरि नै खिर खाने प्रचलन रहेको उनी बताउँछन्। ऋतुअनुसारको खानपिन कायम गर्नका लागि यस्तो परम्परा बनाइएको उनको दाबी छ। ‘यसको त्यस्तो कुनै धार्मिक महत्व नै त छैन। ऋतुअनुसारको खानपिन कायम गर्नका लागि बनाइएको परम्परा हो भनेर भन्न सकिन्छ,’ उनले भने।  माघमा खिचडी, वैशाखमा गुलियो रोटी, भदौमा क्वाँटी तथा क्वाँटीको रस, असारमा दही चिउरा खाने गरिएजस्तै साउनमा खिर खाएर मनाउने गरिएको उनको भनाइ छ।  
संस्कृतविद् जोशीका अनुसार असार महिनाभरि हिलोमा काम गर्दा चिसो लाग्ने तथा गर्मीमा आउने पसिनाले पनि चिसो गराउने भएका कारण साउनमा तातो खिर खाँदा चिसो लाग्नबाट जोगिने जनविश्वास रहिआएको छ। 

बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ४ घर भई हाल धनगढी बस्दै आएकी शान्तेश्वरी पाण्डेय पहाडमा आजका दिन घरघरबाट दुध लगेर सबैजना मन्दिरमा गई पूजाआजा गरी खिर पकाई खाने प्रचलन रहेको बताउँछिन्। ‘पहाडमा हामी विशेषगरी यो महिना दैनिक मन्दिरमा पूजा गर्न जान्थ्यौं र आजका दिन घरबाटै दुध लगी मन्दिरमै खिर पकाएर खान्थ्यौं,’ उनी भन्छिन्।

त्यस्तै, धनगढीका स्थानीय प्रेमसिंह धामीले पनि पहिलेदेखिको प्रचलनका रुपमा आज खिर पकाएर खाने गरिएको बताउँछन्। उनी भन्छन्, ‘असारमा दही चिउरा खाए जस्तै आजका दिन खिर खाने गरिन्छ।’ 

शरीरलाई खिरले पौष्टिकता प्रदान गर्नुका साथै वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन, शरीरलाई उर्जा दिएर स्वस्थ पार्ने काम गर्दछ। परापूर्वकालदेखि नै खानपिनबाट शरीर एवं स्वास्थ्यलाई सन्तुलित राख्ने प्रचलन रहिआएको हुँदा मौसम अनुसारको खानपिन गर्ने प्रचलन रहिआएको संस्कृतविदहरुको भनाइ छ।
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस