सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको कृषि उत्पादन बजारीकरणमा भाटभटेनीको चासो, सोझै बिक्री गर्न तयार छैनन् किसान 

२०७९ साउन १४, १०:११ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमको कृषि उत्पादनको बजारीकरण गर्न इच्छुक रहेको भाटभटेनी सुपरमार्केटले डोटी र डडेल्धुराको तरकारी बिक्री गर्न थालेको छ। वर्षायाम लागेसँगै पहाडी जिल्लामा उत्पादित तरकारी अत्तरियाको कृषि बजारबाट खरिद गरेर बिक्रीका लागि स्टोरमा राखिएको छ। तर सुदूरपश्चिमका किसानबाट सोझै तरकारी खरिद गर्न भने नसकिएको भाटभटेनीले जनाएको छ।

सोझै किसानबाट खरिद गर्दा किसानलाई लाभ हुने भए पनि भाटभटेनीलाई उत्पादित कृषि उपज सोझै बिक्री गर्न अहिलेसम्म कुनै किसान तयार नभएको बताइएको छ। दैनिक १ लाखको तरकारी बिक्री गरिरहेको भाटभटेनीले स्थानीय उत्पादनलाई अन्य प्रदेशमा पनि पठाउने लक्ष्य लिएको भाटभटेनी स्टोरका प्रबन्धक पुष्कल राईले बताए।

'हामीले किसानबाट खरिद गरेर यहाँको तरकारी अन्य प्रदेशमा पनि पठाउने सोच बनाएका छौँ,' उनले भने, 'तर यहाँका किसानसँग कुरा गर्न जाँदा हाम्रो प्रस्तावको बेवास्ता गरेका छन् तर पनि हामीले अझै प्रयास गर्ने सोच बनाएका छौँ।'

धनगढीमा रहेको भाटभटेनी स्टोरले सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादित कृषि उपजको बजारीकरण गर्न थालेको छ। भाटभटेनीले डडेल्धुरा र डोटी जिल्लामा उत्पादन भएको वर्षे तरकारी बिक्री गर्न थालेको हो। डोटी र डडेल्धुराको वर्षे तरकारी अत्तरियाको कृषि उपज केन्द्रबाट खरिद गरेर स्टोरबाट बिक्री गरिरहेको प्रबन्धक राईले बताए।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा उत्पादन भएको फलफूल तथा तरकारी खरिद गरेर उपभोक्तासम्म पुगाउने योजना भाटभटेनीको छ। सुदूरपश्चिमको उत्पादन अन्यत्र पठाउने योजना भए पनि स्थानीय किसानले सोझै बिक्री गर्न इच्छा देखाएका छैनन्। तर सुदूरपश्चिममा तरकारी उत्पादनको क्षेत्र विस्तार भइरहेको कृषि अधिकारीले बताएका छन्।

डडेल्धुरा जिल्लामा मात्रै यो वर्ष ७ सय हेक्टर क्षेत्रफलमा वर्षे तरकारी गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ। एक हेक्टर क्षेत्रफलमा १५ मेट्रिक टनका हिसावले डडेल्धुरामा यो सिजनमा १० हजार ५ सय मेट्रिक टन तरकारी उत्पादन हुने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए। 'डडेल्धुरामा यो सिजनमा प्रसस्त तरकारी उत्पादन भइरहेको छ, बजार पनि अहिले राम्रो पाएको अवस्था हो,' उनले भने, 'तरकारी उत्पादनको क्षेत्र र उत्पादित परिमाण हरेक वर्ष बढ्दो छ।'

यो सिजनमा डडेल्धुरामा खुर्सानी, गोलभेडा, काउली, बन्दा, तोरिया, तितेकरेला, घ्युसिमी, फर्सी, मुलालगायतका तरकारी प्रसस्त उत्पादन भएको छ। तर भाटभटेनी सुपर मार्केटले भने किसानबाट सोझै खरिद गर्ने वातावरण तयार नभएकोले संकलन केन्द्र र बजारबाट नै तरकारी खरिद गरिरहेको जनाएको छ। सुदूरपश्चिमका किसानले तरकारी बिक्री नगर्दा कर्णाली र लुम्बिनी प्रदेशबाट तरकारी ल्याउनु परेको भाटभटेनीका प्रबन्धक राईले बताए।

सुदूरपश्चिमको स्थानीय उत्पादन खरिद गर्न भाटभटेनीले योजना बनाइरहेको जनाएको छ। किसानको घरदैलोमा नै गएर कृषि उपज खरिद गरि उचित दाम किसानलाई दिने र सुपथ मुल्यमा उपभोक्तालाई तरकारी फलफूल उपलब्ध गराउने योजना भाटभटेनीको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस