हेलिकोप्टर नजिकै फोन चलाइरहेका युवकको शिर काटिएपछि...
काठमाडौंः विदेशमा छुट्टी मनाउन गएका धनी परिवारका एक २२ वर्षका युवकको शिर हेलिकोप्टरको पखेटाले काटिएको छ। उनको शिर शरीरबाट अलग्गिएको बताइएको छ। ती युवक त्यहि हेलिकोप्टरमा सवार भएकोसमेत जानकारीमा उल्लेख छ। उनी हेलिकोप्टरको पखेटा बन्द हुनुभन्दा अघि नै तल झरेर सेल्फी खिच्न थालेको विभिन्न सञ्चार माध्यमले बताएका छन्।
ज्याक फेन्टन नामका यी युवक बेलायतको एक धनाढ्य परिवारका थिए। उनी आफ्ना तीन साथीसँग हेलिकोप्टरमार्फत् माइकोनोसबाट ग्रीसको राजधानी एथेन्स नजिकै एक नीजि हेलिप्याडमा पुगेका थिए। चार्टर्ड गरिएको बेल ४०७ हेलिकोप्टरको इन्जिन बन्द हुनुअघि नै उनी त्यहाँ उत्रिएको र हेलिकोप्टरको पछाडिको भागमा गएर सेल्फी लिन खोज्दा त्यस्तो दुर्घटना भएको द गार्जियनले बताएको छ।
दुर्घटनालगत्तै आपतकालीन सेवा बोलाइएको तर पखेटाको तीब्र गतिका कारण ज्याकको तुरुन्त मृत्यु भएको जानकारीमा उल्लेख छ। दुर्घटनाको सुक्ष्म अनुसन्धान जारी छ। हेलिकोप्टरको इन्जिन र पखेटा बन्द हुनु अघि नै पाइटलटले यात्रीलाई बाहिर निस्कन दिएको भए उनीमाथि हत्याको मुद्दा दर्ता गर्न सकिने सम्भावना छ।
एथेन्सको ओपन टिभीले दुर्घटनाका बेला ज्याक फोनमा कुराकानी गरिरहेको वा सेल्फी लिइरहेको हुनसक्ने सम्भावना जताएको छ। ज्याकका अभिभावक अर्को हेलिकोप्टरबाट माइकोनोसबाट एथेन्स पुग्नै लागेको थिए। उनीहरु सबै छुट्टी मनाएर त्यहाँबाट बेलायत फर्किरहेका थिए। स्मरण रहोस्, ज्याकका पिता मिगुएल, द हप फार्मका मार्केटिङ, सेल्स र पीआरका प्रमुख हुन्। यो फार्म ४०० एकडमा फैलिएको छ र असाध्यै चर्चित छ।
ज्याकको मृत्युपछि उनी हेलिकोप्टरबाट किन बाहिर निस्किएका थिए भन्ने बारे विशेष अनुसन्धान भइरहेको छ। स्मरण रहोस्, यदि पाइलटले बटन दबाएर पखेटालाई रोक्दैनन् भने हेलिकोप्टरको पखेटा इन्जिन बन्द भएको करिब दुई मिनेटपछि रोकिने गर्छ।