सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पूर्व मेयरकी छोरीले लगाइन् शैल्यशिखरका मेयरलाई बलात्कारको आरोप

मेयर भन्छन्ः चरित्रहत्या भयो, प्रहरीमा उजुरी दिन्छु 

२०७९ साउन ११, ०१:४८ खबर संवाददाता

धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरमाथि पूर्व मेयरकी छोरीले बलात्कारको आरोप लगाएकी छन्। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएका मेयर विजयसिंह धामीमाथि शैल्यशिखरका पूर्व मेयरकी छोरीले बलात्कारको आरोप लगाएकी हुन्। 

शैल्यशिखरका पूर्व मेयर तथा स्थानीय तहको निर्वाचनमा विजयसिंह धामीसँग पराजित भएका मेयरका उम्मेदवार अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी)ले उक्त आरोप लगाएकी हुन्। उनले हालका मेयर विजयसिंह धामीविरुद्ध निरन्तर सामाजिक सञ्जालमा बलात्कारको आरोप लगाउँदै प्रहार गरिरहेकी छन्।

यसबारे उनलाई बुझ्दा उनले संकटकालका बेला अहिलेका मेयर विजयसिंहले सोही ठाउँकी एक स्थानीय महिलामाथि बलात्कार गरेको आरोप लगाइन्। उनले भनिन्, ‘ती पिडीत महिला अहिले पनि जीवितै छिन्। यो २०६१ सालमा घटाएको घटना हो। पाँच जनाले महिलामाथि बलात्कार गरेका थिए।’ ती पाँच जनामध्ये अहिलेका मेयर प्रमुख पीडक रहेको उनको दाबी छ। 

यता, मेयर विजयसिंह धामीले भने आफूमाथि झुठो आरोप लगाएर चरित्रहत्या गरेको बताएका छन्। आफ्नो बुवा चुनावमा हारेका कारण उनकी छोरी (करुणा) ले पटकपटक आरोप लगाउने गरेको मेयर धामीले बताए। उनले भने, ‘चुनावी मैदानमा भएका बेला पनि यस्तै आरोप लगाएका थिए। अहिले हारेपछि पनि आरोप लगाइरहेका छन्।’ अब पूर्व मेयरकी छोरीविरुद्ध प्रहरीमा उजुरी दिने तयारीमा रहेको उनले बताए। 

शैल्यशिखरका पूर्व मेयर तथा कांग्रेसका नेता अमरसिंह धामी यसपालिको स्थानीय निर्वाचनमा नेकपा एमालेका विजयसिंह धामीसँग पराजित भएका थिए। 

कमेन्ट लोड गर्नुस