इरानमा बाढीका कारण २१ को मृत्यु
काठमाडौँः इरानको फार्स प्रान्तमा अत्यधिक वर्षाका कारण आएको बाढीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। अरु थुप्रै मानिस हराइरहेका छन्। सरकारी अधिकारीहरूका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवकहरू उद्धारका लागि खटिएका छन्। यस्तै इस्ताहबान क्षेत्रमा अत्यधिक वर्षाका कारण बाढी आउँदा त्यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा कार तथा अन्य सवारी साधन डुबाउँदै गरेका दृश्य सामाजिक सञ्जालमा समेत सार्वजनिक भएका छन्। यस क्रममा मानिसहरू सुरक्षित स्थानतर्फ भाग्दै गरेका भिडियो सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन विभागका प्रमुख खलिल अब्दोल्लाहीले जनाए अनुसार कम्तीमा ५५ जनालाई बाढीबाट उद्धार गरिएको रोयटर्समा उल्लेख छ। इरानका कतिपय स्थानमा केही दिनदेखि नै भारी वर्षा भएको छ। पछिल्लो दशकमा बारम्बार उच्च खडेरीको सामना गरिरहेका इरानी नागरिकहरू सँगसँगै भारी वर्षा र बाढीमा पनि ज्यान गुमाउन बाध्य भएका छन्। विज्ञहरू भने जलवायु परिवर्तनका कारण यस्तो अवस्था आएको बताउँछन्।
जसकारण खडेरी, भारी वर्षा र आँधीलाई समेत निम्त्याएको हुन्छ। २०१९ मा इरानको दक्षिणी क्षेत्रमा भारी वर्षा र डुबानले कम्तीमा ७६ जनाको मृत्यु भएको थियो। जहाँ २ बिलियन अमेरिकी डलरभन्दा बढीको क्षति भएको बताइएको थियो। यसै वर्षको जनवरीमा भने बाढीका कारण केही मानिसको मृत्यु हुनुका साथै धेरै क्षति भएको थियो।- एजेन्सी