बझाङको मजखोरी विद्यालयका शिक्षकले पाएनन् १८ महिनाको पारिश्रमिक
शिवजी मण्डेल, बझाङ: बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरूले पारिश्रमिक पाउन सकेका छैनन्। विगत लामो समयदेखि अध्यापन गराएबापतको तलब नपाएपछि निजी शिक्षकहरू विद्यालय जान छाडेका छन्।
पटक–पटक विद्यालय व्यवस्थापन समितिसँग आफ्नो पारिश्रमिक माग गर्दा पनि कुनै सुजावाइ नभएको शिक्षकहरुले बताएका छन्। आफूले परिश्रम गरेबापतको रकम नपाउँदा दैनिकी चलाउन समेत मुस्किल भएको शिक्षक नरेश मण्डेलले बताए। ‘भोलि दिन्छु भन्दाभन्दै १ वर्ष पूरा भयो तर अहिलेसम्म अध्यापन गराएको रकम पाएका छैनौं’ उनी भन्छन्, ‘पारिश्रमिक नपाएपछि योभन्दा अगाडि पनि संघर्षका कार्यक्रम गर्न खोज्दा तलब दिन्छु भनी ठिक्क पारे। तर अहिलेसम्म तलब पाएनौं।’
विद्यालय व्यवस्थापन समिति हिसाबकिताबमा अल्झिएको र आफ्नो पारिश्रमिक दिनतर्फ ध्यान नगएको निजी शिक्षकहरूले बताउँछन्। विद्यालयमा शिक्षकहरूले जान छाडेपछि पठनपाठनमा समस्या आएको छ।
निमावि मावितर्फ नेपाली, सामाजिक, भूगोल, स्वास्थ्य शारीरिक शिक्षा, त्यस्तै कक्षा ११/१२ को बालविकास शिक्षा, स्वास्थ्य शारीरिक शिक्षा र नेपाली विषयका शिक्षक नआउँदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्यनरत छात्रा आरती मण्डेल बताएकी छिन्। आफ्नो एसईई भएकोले एक हप्ता पठनपाठन नहुँदा समस्या भएको उनले सुनाइन्। आफूहरुको भविष्यलाई मध्यनजर गरि छिटोभन्दा छिटो समस्या समाधान गरिदिन समेत विद्यार्थीहरूले अनुरोध गरेका छन्।
मजखोरी माध्यमिक विद्यालयका ३ जना निजी मावि शिक्षकले पारिश्रमिक पाएका छैनन्। १८ महिनाभन्दा बढीदेखिको पारिश्रमिक पाउन बाँकी रहेको शिक्षक झलक मण्डेलले जानकारी दिए।
त्यस्तै मावि नेपाली शिक्षक हरि जप्रेलले सम्बन्धित निकायले ठोस निर्णय नगरुन्जेलसम्मका लागि पठनपाठन कार्यमा नलाग्ने निष्कर्षमा पुगेको बताएका छन्। आफ्नोे पारिश्रमिकको माग गर्दै शिक्षकहरू गाउँपालिका पनि पुगेका थिए।
गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले भने पालिकाले निजी शिक्षक नराखेको कारण पालिकाबाट पारिश्रमिक दिन नसकिने बताएका छन्। गाउँपालिकाले निजी शिक्षकको पारिश्रमिक दिन विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको उनले बताए।
साउन १ गतेबाट निजि शिक्षकहरूले आफ्नो पारिश्रमिकको माग राख्दै विद्यालयमा गएका छैनन्। अबको एक हप्तामा पारिश्रमिक नपाएपछि जिल्ला प्रशासनमा धाउने निवेदन विद्यालयलाई बुझाएको शिक्षक जप्रेलले बताए। एक हप्ता पूरा भएको बताउँदै शिक्षक जप्रेलले आइतबार वा सोमबार विद्यालयमा पुग्ने र पारिश्रमिक दिन अटेरी गरेमा जिल्ला प्रशासनमा धाउने जानकारी दिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाल धामीले भने पदबाट राजीनामा दिएका छन्। गाउँपालिकाबाट नियुक्ति पाएका शिक्षकले व्यवस्थापन समितिमार्फत तलब माग गरेपछि व्यवस्थापन समितिले धान्न नसक्ने अवस्था आउँदा पदबाट राजीनामा दिएको उनी दाबी गर्छन्।
उक्त विद्यालयले निजी स्रोतका तीन जना शिक्षकलाई १० लाखभन्दा बढी रकम दिन बाँकी रहेको छ।