रासायनिक मल खरिद गर्न सरकारसँग ३ अर्ब माग
कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको छ। कम्पनीले रासायनिक मल आयात गर्न थप ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष किसानले रासायनिक मलको अभाव खेप्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ माग गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक अमरराज खैरले मन्त्रालयले तत्काल ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष पनि मलको अभाव हुने बताए। मन्त्रालयले यसअघि कम्पनीलाई मल खरिद गर्न ३ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार वार्षिक ७ लाख टन मल खपत हुने देखिए पनि ३ लाख टनमात्रै आयात हुने गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक खैरले मलको मूल्य बढाउने सर्तमा मात्रै अर्थ मन्त्रालय रकम निकास गर्न तयारी भएको बताए। उनले मलको मूल्य बढाउने अवस्था नरहेको बेला मन्त्रालयले सर्त अगाडि सारेर मलको अभाव सिर्जना गर्न खोजेको आरोप पनि लगाए। भारतबाट आयात गर्ने रासायनिक मलको परिमाण नबढाएसम्म मलको अभाव हट्न नसक्ने उनको भनाइ छ।
कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक पर्ने मल सरकारले समयमै उपलव्ध गराउन नसक्दा हरेक वर्ष किसानले मलको अभाव खैप्दै आएका छन्। झन्डै १४ लाख २५ हजार हेक्टर क्षेत्रफल रहेको धान खेतीका लागि हरेक वर्ष ७ लाख टन मलको माग छ। तर, सरकारले भारतबाट ३ लाख टन मात्रै मल आयात गर्ने गरेको छ। ग्लोबल टेण्डर मार्फत कम्पनीसँग सम्झौता गरी नेपाल सरकारको अनुदानमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत मल खरिद गर्ने गरिन्छ।