राष्ट्रपति भागेर माल्दिभ्स पुगेपछि श्रीलंकामा संकटकाल घोषणा
धनगढीः आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा संकटकाल लगाइएको छ। राष्ट्रपति गोटबाया राजपक्षे देश छोडेर माल्दिभ्स पुगेपछि श्रीलंकामा संकटकाल लगाइएको हो। राजपक्षेले देश छोडेपछि आक्रोशित जनसमूहले उग्र प्रदर्शन गर्न थालेपछि संकटका लगाइएको हो।
राजधानी कोलम्बोको सडकमा प्रदर्शनकारीले उपद्रो मच्चाएका छन्। सर्वसाधारणको उग्र विरोध प्रदर्शनलाई ख्याल गर्दै प्रधानमन्त्री रानिल विक्रमसिंघेले संकटकाल घोषणा गरेका हुन्। बुधबार पनि हजारौँको संख्यामा मानिसहरु संसद भवनलाई लक्षित गर्दै मार्चमा जुटेका छन्। कयौँ स्थानमा पुलिस र प्रदर्शनकारीबीच हिंसक झडप भएका छन्। यसका कारण प्रहरीले बल प्रयोग गर्न बाध्य भएको छ। अर्कातिर प्रदर्शनकारीकै दुई समूह पनि भिड्दा १२ जना घाइते भएका छन्।
श्रीलंकन सोर्सफोर्स मिडिया निर्देशकका अनुसार राष्ट्रपति गोटबाया राजपक्षे, उनकी पत्नी र दुई सुरक्षागार्डलाई माल्दिभ्स जान रक्षा मन्त्रालयबाट अध्यागमन, भन्सार र बाँकी कानुनसम्बन्धी अनुमति दिइएको थियो। १३ जुलाईको बिहान राजापाक्षेलाई माल्दिभ्स जान एयर फोर्सको एक एयरक्राफ्ट उपलब्ध गराइएको थियो। गोटाबाया ८ जुलाईपछि कोलम्बोमा देखिएका थिएनन्। उनी मंगलवार अर्थात् १२ जुलाईमा नौसेनाको जहाजबाट भाग्ने योजनामा थिए। तर पोर्टमा अध्यागमन अधिकारीहरुले राहदानीमा सिल लगाउन भीआइपी सुइटमा जान इन्कार गरिदिए।
राजपक्षेले देशभरिमा चलिरहेको विरोधका कारण अन्य सार्वजनिक सुविधा प्रयोग गर्न नसकेको भन्दै पानीजहाज प्रयोग गर्न खोजेका थिए तर अधिकारीहरुले राहदानीमा सिल लगाउन मानेनन्।