दीपायलमा राजधानी फिर्ता ल्याउँन सकिन्छः मन्त्री रैका
डोटी: सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले राजधानीको निर्णय उल्टाउन सकिने बताएका छन्। सोमबार डोटीमा आयोजना भएको पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै उनले आउने निर्वाचनपछि डोटीमा राजधानी तोक्न सकिने बताएका छन्।
‘प्रदेश सरकार राजधानीको निर्णय गर्दा त्यसबेला चुकेको छ, राजधानी निर्माणको काम अघि बढ्न सकेको छैन’ उनले भनेका छन्। मन्त्री रैकाले कसको स्वार्थमा प्रदेश राजधानी गोदावरी बनाइएको हो भन्ने आफूलाई जानकारी नभएको बताए।
‘सम्भावना र लगानी नै लगाउन नसकिने क्षेत्रमा स्थायी राजधानी तोकिनुभन्दा पर्याप्त सरकारी संरचना र भवनहरू भएको तत्कालीन क्षेत्रीय सदरमुकाममै राजधानी तोक्नु पर्थ्यो’ मन्त्री रैकाले भने, ‘दीपायलमा अझै पनि राजधानी फिर्ता ल्याउँन सकिन्छ।’ उनले आगामी निर्वाचनमा जनताले विवेक पुर्याएर मतदान गरेमा आउने सरकारले राजधानीको निर्णय उल्ट्याउन सक्ने आश्वासन दिएका छन्।
गत वैशाख २७ गते गृह जिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि डडेल्धुरामा प्रदेश राजधानी बनाउन सकिने अभिव्यक्ति दिएका थिए। उनले पूर्वाधारहरु निर्माण गरेर प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने भन्दै स्थानीय तहको चुनावमा मत मागेका थिए।
सुदूरपश्चिम प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकेको ४ वर्ष पुग्न लाग्दासमेत राजधानी तोकिएको ठाउँमा कुनै संरचना निर्माण हुन सकेको छैन। प्रदेश सरकारले राजधानी बनाउने ठाउँको जमिनको स्वामित्वसमेत लिन सकेको छैन।