बाजुराका रणबहादुर: जुन वडामा कार्यालय सहयोगी अहिले त्यसकै वडाअध्यक्ष
बाजुरा: ३ महिना अघिसम्म बाजुराका रणबहादुर थापा बुढीगंगा नगरपालिकाको वडा नम्बर १ मा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए। उनले मासिक १४ हजार पाउने गरि नगरपालिकाबाट करार नियुक्ति पाएका थिए। तर यहि असार २३ गते भएको स्थानीय तहको चुनावबाट उनी सोही वडाको अध्यक्ष बनेका छन्।
२०७५ सालदेखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थापाले वडाअध्यक्ष पदमा लड्न गत चैतमा राजीनामा दिएका थिए। उनले नेकपा एमालेसँग आफू वडाअध्यक्ष लड्न इच्छुक रहेको बताएका थिए। सोही आग्रह अनुसार एमालेले उनलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
थापाले नेपाली काँग्रेसका लोकबहादुर थापालाइ हराउँदै विजयी भए। थापाले ४ सय १६ पाएका थिए भने पराजित लोकबहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए। थापाले कार्यालय सहयोगी हुँदा वडाको सम्पूर्ण काम गरेको अनुभव सुनाए। ‘मैले वडामा कार्यालय सहयोगी हुँदा धेरैको सेवा गरेको थिए। मलाई जनताका दुःख, पीर र मर्का सबै थाहा छ। ममा वडा कार्यालय चलाउन सबै अनुभव पनि भइसकेको छ’ उनले भने।
यसअघि उक्त वडाको अध्यक्षमा नेपाली काँग्रेसका राजेशकुमार सिंहसहित पूरै प्यानल विजयी भएको थियो।