शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाढीबाट बाह्रसिंगा जोगाउन घाँसे मैदान
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगालाई बाढीबाट जोगाउन घाँसे मैदान व्यवस्थापन गरिएको छ। बाह्रसिंगाको मुख्य वासस्थान रहेको घाँसे मैदान व्यवस्थापन गरिएको हो। संरक्षण क्षेत्रकै ठूलो निकुञ्जको कोर एरियामा रहेको ५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको घाँसे मैदानको १० हेक्टर क्षेत्रलाई बाह्रसिंगाका लागि व्यवस्थापन गरिएको निकुञ्जका सूचना अधिकारी रोशन ठगुन्नाले बताए।
‘वर्षातका बेला घाँसे मैदानको केही क्षेत्र डुबानमा पर्दा बाह्रसिंगा बगाउने र डुबाउने समस्या हुने गर्छ‚’ उनले भने, ‘त्यसै समस्यालाई ध्यान दिएर गरी बाढी आउन अगावै घाँसे मैदान व्यवस्थापन गरेका छौं। यसले चरन क्षेत्रको अभावसमेत पूर्ति गर्नेछ।’ बाढी आएका बेला बाह्रसिंगा जोगाउन सघाउ पुग्ने उनले बताए।
निकुञ्जमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणमा बाह्रसिंगा पर्ने गर्छन्। एकसाथ सयौंको संख्यामा रहने बाह्रसिंगा हेर्न सकिन्छ। विश्वकै सबैभन्दा ठूलो बाह्रसिंगाको झुण्ड निकुञ्जमा हेर्न पाइन्छ। निकुञ्जमा २ हजार ४ सयको हाराहारीमा बाह्रसिंगा रहेका छन्। निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
वर्षायाम शुरु भएसँगै असारदेखि कात्तिकसम्म निकुञ्ज क्षेत्र बाह्य र आन्तरिक पर्यटकका लागि बन्द गरिएको छ। निकुञ्जका सूचना अधिकारी ठगुन्नाका अनुसार अनुमति लिएर अध्ययन र अनुसन्धानका लागि आउनेहरूका लागि मात्र निकुञ्ज खुला रहेको छ।