आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेर उत्सव मनाए, राष्ट्रपति भागेर सुरक्षित स्थानतिर
धनगढीः श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन्। देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्टपति निवास कब्जा गरेका समाचार संस्था एएफपीले जनाएको छ।
प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इट्टा प्रहार गरेका छन्। प्रदर्शनकारी राष्ट्रपति निवासमा पसेका र केहीले खुसीयाली मनाइरहेका दृष्य सार्वजनिक भएका छन्। केही प्रदर्शनकारीले राष्ट्रपति निवासको पौडी पोखरीमा पौडीको मज्जा पनि लिएका छन्। प्रदर्शनकारीले निवास घेर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सेनाले सुरक्षित ठाउँमा लगेको खबरमा उल्लेख छ।
आजको प्रदर्शन आर्थिक संकट सुरु भएयताकै ठूलो भएको खबरमा उल्लेख छ। प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ। उनिहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मुख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ। औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ। नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ।