अमरनाथ गुफा नजिकै बादल फाट्दा १० जनाको मृत्यु
एजेन्सी: शुक्रबार साँझ जम्मु कश्मीरको अमरनाथ गुफा नजिकै बादल फाट्दा १० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमरनाथ गुफा मुनि साँझ ५.३० बजे बादल फटेको थियो।
घटनापछि एनडीआरएफ, एसडीआरएफ र सबै सम्बन्धित निकाय घटनास्थलमा राहत र उद्धार कार्यमा जुटेका छन्। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एनडीआरएफका डीजी अतुल करवालले भने, 'आशा छ पानीको बहाव कम हुनेछ तर हामी हरेक परिस्थितिका लागि तयार छौँ। १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जनाको जीवित उद्धार गरिएको छ।'
जम्मु कश्मीर प्रहरीका अनुसार अचानक बादल फाट्दा केही लङ्गार र टेन्टहरू बाढीको चपेटामा परेका थिए। अमरनाथ गुफा नजिकै बादल फाटेको घटनालाई लिएर केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हासँग कुरा गरे र अवस्थाबारे जानकारी लिएका छन्।