कैलाली–कञ्चनपुरमा ‘नाइरोबी फ्लाइ’को आतंक
धनगढी: केही दिनअघि धनगढीका टंक पाठकको घाँटीमा एक किसिमको घाउ देखियो। चिलाउने र छुँदा दुख्ने त्यो घाउ के–कारणले भयो भनेर उनले ठम्याउन सकेनन्। उनको छाला चिलाउने, पोल्ने र संक्रमित ठाउँमा फोका उठ्ने भइरहेको थियो। उनले एन्टीसेफ्टिक पाउडर लगाएपछि २ दिनमा त्यो घाउ निको भयो।
यस्तै कञ्चनपुरकी शिला तामाङको ढाडमा पनि त्यस्तै किसिमको घाउ भएको थियो। हेर्दा डडुवा घाउ जस्तो देखिने त्यसले उनलाई साह्रै दुःख दियो। उनले पनि त्यो घाउ के कारण ले भयो भनेर बुझ्न सकिनन्। ‘छुँदा पोल्ने घाउका कारण उत्तानो परेर सुत्नै सकेन। कुनै किराले टोकेको होला भनेर मैले अनुमान लगाएको थिए’ उनले भनिन्। सामान्य मलम लगाएपछि त्यो घाउ ३ दिनमा निको भयो।
अहिले भारतसँग सीमा जोडिएका जिल्लामा यस्तो किसिमको छालाको संक्रमण देखा पर्न थालेको छ। भारतसँगै रहेका कैलाली र कञ्चनपुरमा पनि यसका संक्रमित भेटिएका छन्। यो कुनै रोग नभइ ‘नाइरोबी फ्लाइ’ नामक किराका कारण भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। उसले फ्याक्ने एसीडले छालामा संक्रमण हुने बताइएको छ।
यो किरा अफ्रिकामा पाइन्छ। यसको शरीरमा एक किसिमको रसायन पाइन्छ जसको सम्पर्कमा आउँदा जलन हुने गर्दछ। यसैकारण यसलाई ड्रेगन बग पनि भनिन्छ। यो किरा हाम्रो छालाको सम्पर्कमा आएपछि छाला चिलाउने, पोल्ने र फोका उठ्ने तथा दुख्ने जस्ता लक्षण देखापर्ने छाला रोग विशेषज्ञले बताएका छन्। बर्खायामका बेला बढी देखापर्ने नाइरोबी फ्लाइ अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको अधिकारीहरुले बताएका छन्।
यसबाट बच्न शरिर छोप्ने कपडा लगाउने तथा साँझको बेला झ्यालढोला बन्द गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। यसको सम्पर्कमा आएर छालामा संक्रमण भएमा चिकित्कलाई देखाउन आग्रह गरिएको छ।
-न्यूयोर्क टाइम्सकाे सहयोगमा