सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सीमा पुल निर्माणको काम अलपत्र

२०७५ फाल्गुन ९, ११:४३ सीताराम ओझा

सुदुरपश्चिम प्रदेशको सवैभन्दा पुरानो नाका बैतडीको झुलाघाटामा पुल निर्माणको माग गरिएको १५ बर्ष हुँदा पनि त्यसले सार्थक प्रयास पाउन नसकेको भन्दै आन्दोलन थालिएका वेला दार्चुलामा भने सीमा पुल निर्माणको काम अलपत्र परेको छ । नेपाल र भारत जोड्ने महाकाली नदीको मोटरपुल निर्माणका लागि भारत सरकारले डिजाईन स्टिमेट सहित सर्वेको काम गरिसक्दा पनि पुल निर्माणको काम अगाडी बढ्न सकेको छैन् । महाकाली नदीमा नेपाल भारत जोड्ने मोटरपुल निर्माणका लागि निर्माणस्थलको टुंगो डेढ एक वर्ष अघि नै लागेको भएपनि निर्माणको काम भने सुरु हुन सकेको छैन । सीमापार बैठकमा र दुवै देशका सरकार बीचमा पुल निर्माणका लागि कुरा उठाउने अधिकारीहरुले बताएका छन् । 

नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त रुपमा स्थलगत भ्रमण गरी मोटरेवल पुल निर्माणस्थलको टुंगो लगाउँदै स्थानीय निर्वाचन भईरहेका बेला २०७४ असारमा सर्वेक्षण गरेको पुलको अहिलेसम्म निर्माण कार्य अगाडी बढ्न नसकेको हो । भारतीय राजदूतावासबाट मोटरपुल निर्माणका लागि २०७४ असार २ गते पत्राचार भएपछि दुई देशका अधिकारीहरुको संयुक्त समन्वय बैठक कञ्चनपुरमा बसेका वेला पुल निर्माण गर्ने काम अगाडी बढाईएकोमा दुवै देशको संयुक्र टोलीले सर्वेक्षण गरेको डेढ बर्ष वितिसक्दा पनि पुल निर्माणको काम अगाडी बढ्न सकेको छैन् । बैठकमा भारतीय पक्षले ‘उत्तराखण्ड सरकारले महाकाली नदीमा मोटरपुल निर्माणको प्राविधिक तयारी गर्न १९ लाख ६० हजार भारतीय रुपैयाँ बजेट विनियोजन गरेपछि सर्वेक्षणका काम गरिएको थियो । सन् २०१२ देखि महाकाली नदीमा नेपाल भारत जोडने मोटरेवल पुल निर्माणको चर्चा हुदैआएको छ । सन् २०१७ मा भने एक हप्ताभित्रै राजदूतावासको पत्राचारदेखि दुई देशका प्राविधिकहरुको बैठक र स्थलगत भ्रमणसम्मका कार्य भएपनि निर्माणको काम अगाडी बढ्न नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । 

डेढ वर्ष अगाडी भएको संयुक्त प्राविधिक टोलीको भ्रमणले तीन वटा सम्भावित स्थल छनोट गरेको थियो । प्राविधिक टोलीले भ्रमण संगसंगै तीन वटा विकल्पमध्ये दोस्रो विकल्पलाई मोटरपुल निर्माणस्थल भनेर टुंगो लगाएको अभिलेख छ । संयुक्त प्राविधिक टोलीले अक्षांश र देशान्तरको विवरण सहित ३ वटा विकल्प संकलन गरेको थियो । धापको सुरकाडा र भारततर्फ तल्लो छारछुममा मोटरपुल बनाउन ‘प्राविधिक रुपमा उपयुक्त स्थान’ भन्दै दुबै देशको टीमले निस्कर्ष निकालेपछि प्रक्रिया अगाडी बढेकोमा त्यसपछि भारतीय पक्षबाट निर्माणको काम सुरु हुन सकेको छैन् । 

महाकाली नगरपालिकाको वडा नम्बर ८ सुरकाडा र भारतको धारचुला तहसिल अन्तर्गतको छारछुम जोड्ने मोटरपुल निर्माणका लागि टेण्डर आव्हान गरिएकोमा ठेकेदारले कबोल नगरेपछि निर्माणमा ढिलाई भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय लगानीमा निर्माण गरिने मोटरपुलका लागि १५ करोड ५६ लाख भारतीय रुपैयाँको लागत इष्टिमेट तयार गरिएको छ । लोक निर्माण विभागका ईन्जिनियरहरुले इष्टिमेट तयार गर्दा त्रुटी गरेकाले ठेक्का कबोल हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लोक निर्माण विभागले आव्हान गरेको पुल निर्माणको टेण्डरमा निर्माण कम्पनी तयार नभएको भारतीय पत्रिका अमर उजालाले जनाएको छ । १ सय १० मिटर लामो मोटरपुलका लागि प्राविधिक प्रस्ताव अनुसार पुल निर्माण गर्न कम्पनी तयार नभएका हुन् । लोक निर्माण विभागले पुल निर्माणका लागि २० करोड भारतीय रुपैयाँ बजेट दिन केन्द्र सरकारसंग माग गरेको छ । यसअघि विनियोजित १५ करोड ५६ लाखको बजेटमा ठेकेदार कम्पनी तयार नभएपछि पुल निर्माणमा बजेट बढाउन माग भएको हो । केन्द्र सरकारबाट बजेट वृद्धिको स्वीकृति आएपछि पुनः ठेक्का प्रक्रिया अघि बढाईने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । 

दार्चुलामा दुवै देश जोड्ने मोटरेवल पुल निर्माण भएमा यसले दार्चुला र प्रदेशकै विकासमा टेवा पुराउने आशा गरिएका वेला निर्माणको काममा ढिलासुस्ती भईरहेको छ । नेपाली पक्षले भारतबाट भईरहेको ढिलाईको कारण वारे भने थाहा हुन सकेको छैन । तर पुल निर्माण भएमा यसले आर्थिक गतिविधि र दुई देश बीचको व्यापार बढाउने विश्वास लिएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले बताए । पुल निर्माण भएमा मान सरोवर जाने मार्गका रुपमा सो सडक खण्ड प्रयोग हुने सम्भावना रहेको छ भने भारतीय पर्यटकहरुलाई दार्चुलाका पर्यटकीय क्षेत्र भएर नेपाल ल्याउन पनि सहज हुने देखिएको छ । अपी नाम्पा संरक्षण केन्द्र अपि हिमाल सहितका क्षेत्रमा पनि भारतीय पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । नेपालमा उत्पादन भएका कृषि उपज जडीबुटीहरु पनि भारत निकासी गर्दै आर्यआर्जन गर्न पनि सहज हुने देखिएको पुल निर्माण हुने महाकाली नगरपालिकाका प्रवक्ता पुष्कर जोशीले बताए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस