सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीतोला प्रकरणः कार प्रमाणको रुपमा राखियो, घटना सुनियोजित कि अकस्मात ? 

२०७९ असार १७, ०५:४४ टेकसिंह धामी

धनगढीः कैलालीको बुढीतोलामा कर्मचारीमाथि लुटपाट तथा आक्रमण प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले तीनजना भारतीय नागरिकलाई थुनामा राखेर अनुसन्धान जारी राखेको जानकारी दिएको छ। यसअघि नै लुटपाट तथा आक्रमण आरोपमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई पक्राउ गरेको थियो। उनीहरु अहिले मालाखेती प्रहरीको हिरासतमा छन्। 

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गणेश नाथका अनुसार बरामद गरिएको गाडी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। प्रहरीले गाडीसहितका अन्य बरामद सामानहरुलाई प्रमाणका रुपमा पेश गर्ने नाथले बताए। 

यसरी भएको थियो कम्युटर अपरेटरमाथि आक्रमण 

डडेल्धुराको आलिताल गाउँपालिकामा कम्युटर अपरेटरको रुपमा कार्यरत लोकेन्द्र भण्डारी असार १३ गते महेन्द्रनगरस्थित चम्मन चोकबाट डडेल्धुरा जाने तयारीमा थिए। कञ्चनपुरको वेदकोट नगरपालिका–३ घर भएका भण्डारी चम्मन चोकमा चिया पिएर प्रदेश नम्बर ३–००१००२३ च ८७२१ नम्बरको आफ्नै प्राइभेट कार लिएर अगाडि बढे। उनी अलि अगाडि पुगेपछि तीन जना अपरिचित हात दिएर गाडी रोक्न लगाए। महेन्द्रनगर बसपार्क क्षेत्रका अटोरिक्सा चालकको सहयोगमा उनीहरुले भण्डारीको कार रोक्न लगाएका थिए। उनीहरुले आफूहरु भारतबाट घुम्न आएकाले कैलालीको खानीडाँडासम्म लगिदिन आग्रह गरे। अटो रिक्सा चालककै आग्रहमा उनीहरु खानीडाँडासम्म जान पेट्रोल हालिदिन पनि तयार भए। भण्डारी ती तीन जना अपरिचित व्यक्तिहरुसँगै महेन्द्रनगरबाट डडेल्धुरातर्फ लागे।

कैलालीको गोदावरी धाम नजिकै पुगेपछि उनीहरुले दर्शन गर्ने भन्दै भण्डारीलाई कार रोकिदिन आग्रह गरे। उनले भारतबाट घुम्न आएका पर्यटक भएकाले गोदावरी धाममा दर्शन गर्न कार रोकिदिए। त्यसपछि उनीहरुले गोदावरी नदीमा करीब २० मिनेटसम्म नुहाएर गाडीमा फर्किए। भण्डारी उनीहरुलाई लिएर अघि बढे। भीमदत्त राजमार्गमा करिब १४ किलोमिटर अगाडि सेल्फी डाँडा नजिकै पुनः फोटो खिच्ने भन्दै भण्डारीलाई कार रोकिदिन आग्रह गरे।

भण्डारीले सडक छेउमा गाडी रोकिदिएपछि उनीहरु तीनै जना बाक्लो झाडी भएको स्थानतर्फ फोटो खिच्न गए। भण्डारीका अनुसार उनी कारभित्रै बसिरहेका थिए। करिब ३ मिनेटपछि एकजना आएर भण्डारीलाई फोटो खिचिदिन आग्रह गर्दै झाडीतिर लिएर गए। उनले फोटो खिचिदिने क्रममा अकस्मात पछाडिबाट एक जनाले हातमा चक्कु प्रहार गरे। छेक्ने क्रममा चक्कुले उनको हातको औला काटिएको भण्डारी बताउँछन्। प्रतिकारमा उत्रिएका भण्डारीलाई उनीहले ढुङ्गाले टाउको र निधारमा बजारे। त्यसपछि भण्डारीका हात खुट्टा बाँधेर भीरतर्फ फालेर पर्समा भएको मोबाइल फोन र नगद पाँच हजार रुपैयाँ लुटेर उनीहरु कार लिएर भागेका थिए। 

करीब २५ मिनेटपछि बाँधिएकै हातले पछाडीबाटै बाँधिएका खुट्टाको डोरी फुकाउन भण्डारी सफल भए तर हिँड्न सक्ने अवस्था नभएका कारण उनी केहीबेर त्यहीँ बसे। पछि विस्तार विस्तारै सडकमा पुगे। उनीले सडकमा पुग्दा अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको एम्बुलेन्स फेला पारे। एम्बुलेन्स चालकले रोक्न मानेनन्। तर भण्डारीका अनुसार ती एम्बुलेन्स चालकले प्रहरीसम्म खबर पुर्‍याइदिएका रहेछन्। त्यसपछि प्रहरी गएर उनको त्यहाँबाट उद्धार गरेको थियो। 

घटना सुनियोजित कि अकस्मात ? 

कम्युटर अपरेटर भण्डारीले आफूमाथि योजनाबद्ध रुपमा नभएर आकस्मिक रुपमा आक्रमण गरेर लुटपाट भएको बताएका छन्। गोदावरी नदीमा नुहाउने क्रममा उनीहरुले लुट्ने योजना बनाएको हुनसक्न भण्डारीको दाबी छ। यस्तै प्रहरीले पनि घटनालाई योजनाबद्ध नभएर अकस्मात भएको निश्कर्ष निकालेको छ। लुटपाट तथा आक्रमण भएकै दिन घटनामा संलग्न तीनै जनालाई प्रहरीले उनीहरुलाई गोदावरी नगरपालिका १ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस