सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ४३ प्रतिशत खेतमा रोपाईं

फोटो: किशोर राज पाण्डेय
फोटो: किशोर राज पाण्डेय
२०७९ असार १६, १०:२१ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। तर, असार १५ सम्म ४३ प्रतशित क्षेत्रमा मात्रै रोपाईं सकिएको छ। यो वर्ष सुदूरपश्चिममा वर्षा नभएका कारण कम क्षेत्रमा रोपाई भएको प्रदेश सरकारले बताएको छ। 

प्रदेशको सबै भन्दाबढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाईं भएको छ। डडेल्धुरामा ७०, अछाममा ६० प्रतिशत, बझाङ्गमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०/४० प्रतिशत, कैलाली र बाजुरामा ३५÷३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेत क्षेत्रमा रोपार्इं सकिएको प्रदेश सरकारको तथ्यांक छ। सिँचाईको सुविधा भएका खेतहरुमा सुख्खामा पनि रोपाई गरिएको दाबी प्रदेश सरकारको छ। 

प्रदेशका नौ ओटै जिल्लामा सिँचाईको सुविधा नभएकाले वर्षाको पानीले रोपाई गर्नुपर्ने बाध्यता रहेको छ। ढिलोगरी रोपाई सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता गरिएको छ।  नेपालमा सबैभन्दा बढी बर्खे धान उत्पादन हुने जिल्ला हो, कैलाली। कैलालीमा तीन लाख टन धान उत्पादन हुँदै आएको छ। जिल्लामा ६७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा प्रत्येक वर्ष धान रोपिदै आएको छ। कैलालीमा उत्पादन हुने धान प्रदेशका अन्य जिल्लामा आपूर्ति हुँदै आएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। 

यस्तै कञ्चनपुरमा ४७ हजार ५ सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ। पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार चार सय चार हेक्टरमा रोपाइँ हुँदै आएको छ। प्रदेशका अधिकांश जग्गामा आकाशको पानीको भरमा रोपाइँ गर्ने गरिन्छ। प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभपरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको दाबी प्रदेश सरकारको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले प्रदेश सरकारले धान खेतीलाई पहिलो प्राथामिकता दिएको बताइन्। उनले कैलाली र कञ्चनपुरमा धान खेती विस्तारका विभिन्न कार्यक्रम रहेको बताइन्। 
सोमबार रातिबाट आएको वर्षाले सुदूरपश्चिमका किसानलाई राहत भएको छ। आकाशे पानीको भरमा खेती गर्दै आएका प्रदेशका किसानलाई राहत भएको हो। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस