सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विपद् व्यवस्थापनको के छ तयारी ? 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार १२, १०:५५ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ। मनसुन सक्रिय हुने समयमा सुरु भइरहेको छ। यसबेला हुनसक्ने सम्भावित विपद्लाई लिएर सर्वसाधारणमा भने चिन्ता उत्पन्न भएको छ। 

यो समयमा विशेषगरी पहाडी जिल्लामा पहिरोको जोखिम बढी हुन्छ भने तराइका क्षेत्रमा डुबानको समस्या भोग्नुपर्ने हुन्छ। यसकै कारण सर्वसाधारण चिन्तामा छन्। तर, प्रदेश सरकारले भने यस वर्ष विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व तयारी गरिरहेको दाबी गरेको छ।  प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावल भन्छन्, ‘विपद् व्यवस्थापनाका लागि यस वर्ष हामी पूर्ण रुपमा तयार छौं।  आवश्यक सामग्री खरिददेखि जिल्ला स्तरबाट हुने तयारी पनि भइरहेका छन्।’

सुदूर पहाडका सात जिल्लामा बर्खाको समयमा पहिरो जाने जोखिम हुन्छ। विभिन्न मानव बस्तीमा पहिरो खस्ने समस्या देखिँदै आएको छ। हरेक वर्ष पहिरोका कारण कतिपयले ज्यान गुमाएका छन्, भने कतिपयको घर खेतनै बगरमा परिणत भएको छ। यस्तै, पहाडी क्षेत्रमा पहिरोकै कारण राजमार्ग अवरुद्ध हुने, ग्रामीण सडकहरु पूर्णरुपमा बन्द हुने लगायतका समस्या पनि देखिने गरेका छन्। त्यसपछि गाउँ–गाउँमा खाद्यान्नको अभाव हुने गरेको छ। बालबालिका, गर्भवती तथा वृद्धवृद्धालाई पनि यसको प्रत्यक्ष असर पर्ने गरेको छ। त्यसकारण विपद् आउन पूर्व नै विशेष तयारी गर्नुपर्ने देखिन्छ।

तराइका क्षेत्रमा भने बर्सातको समयमा डुबानको समस्या बढी देखिने गरेको छ। विशेषगरी कैलाली कञ्चनपुरका विभिन्न बस्तीहरु डुबानमा पर्ने गरेका छन्। नदी कटान हुँदा बाढी मानवबस्तीमा पस्ने लगायतका समस्याहरु तराइका क्षेत्रमा देखिने गरेका छन्। 

उक्त समयमा प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्न तथा खानाको व्यवस्था गर्न पनि मुस्किल हुने गर्दछ। तर यसवर्ष भने प्रदेश सरकार विपद्को सामना गर्न तयार रहेको दाबी मन्त्री रावलको छ। ‘विपद्को सामना गर्न नपरोस् कामना गर्छु तर आइहाले पनि सामना गर्ने तयारी हाम्रो छ’ उनले भने। 

सुदूरपश्चिम प्रदेश सरकारले विपद् व्यवस्थापन लागि आवश्यक सामग्री तथा अन्य तयारी लागि सरोकारवाला निकायसँग छलफल भइरहेको जनाएको छ। प्रदेश सरकारले जिल्ला प्रशसनमार्फत विपद् व्यवस्थापनका लागि २० करोड रकम कोषमा जम्मा गरेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस