बालबालिकाका लागि फाइजर खोप आइपुग्यो
काठमाडौं: ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको २२ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ।
अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा त्यति खोप नेपाललाई दिएको हो। आज (आइतबार) सो खोप आइपुगवेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्डचेनमा राखिने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाले जनाएके छ।
पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदैछ। खोप आइपुगेपछि नेपालस्थित अमेरिकी दूतावासले कोभिड–१९ महामारीको अन्त्यका लागि नेपालसँग निरन्तर काम गरिरहेको जनाएको छ।
‘अमेरिकी जनताको सहयोगमा बालबालिकाका लागि प्रयोग हुने २२ लाख डोज कोभिड–१९ खोप आज नेपाल आइपुगेको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं,’ अमेरिकी दूतावासले लेखेको छ, ‘कोभिड–१९ महामारीको अन्त्यका लागि हामी नेपालसँग निरन्तर काम गरिरहेका छौं।’