अमेरिकामा बन्दुक आक्रमणका घटनाविरुद्ध देशव्यापी प्रदर्शन
अमेरिकामा बन्दुक आक्रमणका घटना बढ्दै गएपछि प्रदर्शन भएको छ। व्यक्तिले बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न मागसहित देशव्यापी प्रदर्शन भएको हो।
अन्धाधुन्ध हुने गोली प्रहारका घटनाबाट निर्दोष नागरिकले ज्यान गुमाउने घटना बढेपछि कडा कानुनको माग गरी दशौँ हजार मानिस सडकमा ओर्लिएका बीबीसीले जनाएको छ। उनीहरुले ‘म बन्दुकको आक्रमणबाट बच्न चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए। राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गरेको छ।
राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धी कानुन संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गरेको छ। गएको मे २४ अर्थात् जेठ १० गते एउटा विद्यालयमा भएको आक्रमणमा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो।
गएको वर्ष त्यस्ता २६ वटा घटना भएको विवरण रहेको छ। यसअघि सन् २०१८ फेब्रुअरीमा फ्लोरिडाको एउटा विद्यालयमा १७ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले बन्दुक राख्न पाउने व्यवस्थामा कडाइको माग गरी प्रदर्शन गरेका थिए।