सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा !

२०७९ जेठ २८, ०४:४२ आशिष मल्ल

धनगढी: सशस्त्र प्रहरी बल विशेषगरी सीमा सुरक्षाका लागि परिचालन गरिन्छ। त्यो बाहेक राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र जनतालाई आवश्यकता अनुसार शान्ति सुरक्षा दिनुपर्ने बलको जिम्मेवारी अन्तरगत पर्छ। तर, यी जिम्मेवारीलाई लत्याएर दार्चुलामा सशस्त्र प्रहरीले मनपरी गरेको पाइएको छ। 

भारतद्वारा अतिक्रमित दार्चुलामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा जम्माजम्मी २५८ जना कार्यरत छन्। उनीहरुले ४ वटा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (विओपी) सहित जिल्लामा सुरक्षा प्रदान गनुपर्ने हो। तर, तीमध्ये शनिवार १२२ जना बिदामा बसेका छन्।

यस्तै जेठ २१ गते १४५ जना बिदामा बसेका थिए। जेठ १९ गते १४८ जना, गत वर्षको चैत २१ गते १७२ जना र फागुन ७ गते १६६ बिदामा बसेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार धेरैजसो समयमा उक्त गणमा कार्यरत १ सयभन्दा बढी जना बिदामै रहन्छन्। 

कार्यालयको नियम अनुसार एकपटकमा ३० जनालाई मात्र बिदा दिने नियम कायम रहेता पनि हाल उक्त गणमा बिदामा रहेकाको संख्या तीन चौथाइले हुन आउँछ। यसरी सुरक्षा निकायजस्तो संवेदनशील क्षेत्रमा नै मनोमानी ढंगले नियमविपरीत चल्ने गरेको त्यहाँ रहेका सिपाही र हवल्दारहरुको गुनासो छ। ‘हामीहरु बिदामा बस्दा घरमा वा घरभन्दा बाहिर खाने गर्छौ तर हाम्रो महिनाको तलब भत्ताबाट बिदाको पनि राशन भत्ता लगायतको खर्च कटौती हुन्छ’ एक जवानले भने। त्यो सबै कटौती रकम दार्चुलाका प्रहरी उपरीक्षक(एसपी) त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने उनले आरोप लगाए।  

एक जना सिपाही १ महिना बिदामा बसेबाफत सोही व्यक्तिबाट १० हजार  बराबरको राशन भत्ताको रकम प्रहरी उपरीक्षकको व्यक्तिगत खातामा जाने गरेको अर्का जवानले बताए। ‘हामीहरु देश र सीमाको सेवा होइन कि उहाँकै गुलामी गर्नका लागि यो क्षेत्रमा हिँडेका रहेछौ’ उनले दुखेसो गरे। 

उक्त गणमा हेडक्वाटरबाट अनुगम टोली आउने गर्छ, त्यो पनि पूर्व जानकारी दिएर। तर, हेडक्वाटरबाट खटिएको अनुगमन टोलीले युनिटको अनुगमन गरेर रिपोर्ट तयार गर्ने गरेको एक सिपाहीले बताएका छन्। 

यतिसम्मकी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका हवल्दार, सिपाहीहरुले आफूहरु कार्यालय प्रमुखको शोषणमा पर्ने गरेको गुनासो समेत गरेका छन्। उनीहरुले आफूहरु बिदामा रहँदाको राशन भत्ता समेत काटौती गर्ने गरेको दुखेसो गरेका छन्।

यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक त्रिभुवन विष्टसँग प्रतिक्रिया माग्न खोज्दा उनी स्वयम् बिदामा बसेको पाइयो। कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षकले उनी भोलि कार्यालयमा हाजिर हुने भनेर जानकारी दिएका छन्। उनले यस विषयमा प्रमुखलाई नै सोध्न आग्रह गरे। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस