युगान्डामा पनि भोकमरी समस्या, राष्ट्रसंघद्वारा सहयोगको आग्रह
एजेन्सी: युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन्। युगान्डामा रहेका राष्ट्रसंघीय एजेन्सीहरूले यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परिसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ।
युगान्डाको उत्तर पश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो। राष्ट्रसंघीय एजेन्सीहरूका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो। यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ।
खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए। युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन्। यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन्।