दार्चुलामा एकल महिलाको हत्याः छोरीको पनि हत्या प्रयास, भागेर ज्यान बचाइन्
धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको बुधबार हत्या भयो। घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।
उक्त घटनाको अनुसन्धान जारी छ। सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले एउटा अर्को तथ्य फेला पारेको छ। मृतककी आमाको हत्या भएपछि छोरी गौमती खडायतको हत्या प्रयास गरिएको प्रहरीले जनाएको छ। ‘आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत हत्या प्रयास भएको रहेछ,’ शैल्यशिखर–१ का वडाध्यक्ष भरतबहादुर खडायतले भने, ‘छोरीले भागेर ज्यान बचाएकी छन्।’गौमती भागेर छिमेकी रणवीर खडायतको घरमा पुगेपछि ज्यान जोगाउन सफल भएको उनले बताए। छिमेकीका अनुसार हत्यामा संलग्न भएकाहरू बुधबार बिहान ३ बजे मदिरा सेवन गरी अनिभाको घर पुगेको र महिलालाई घरबाहिर बोलाएका थिए।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन्। एकजना महिलालाई घरबाहिर बोलाएर मदिरा सेवन गरेका तीनजना पुरुषले बलात्कार गरेको हुन सक्ने आशंका गरिएको छ। घरबाहिर गएको केही समयपछि छोरीले आमालाई फोन गर्दा मोबाइल अफ गरिएको थियो। ४ बजे बाहिर आएर हेर्दा घरभन्दा माथिल्लो खेतमा रहेको खरमा आगो लागेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आंशकामा छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ। अर्का भोजबहादुर खडायत फरार छन्। पक्राउ परेका वीरेन्द्र माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्ष हुन्। फरार रहेका भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन्।
मृतक महिलाका श्रीमान् सात वर्ष पहिले बितेका थिए। मृतकका दुई छोरी र एक छोरा छन्। अनिभाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ। जटिल घटना भएकाले जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने र थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।