सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ देखि ११ वर्षकालाई पनि कोरोना खोप लगाइने

२०७९ जेठ २४, ०९:२५ खबर संवाददाता

काठमाडौंः पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ।

‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडी नै खोप उपलब्ध गराइदिनुहोस भनेका छौं। खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने छ,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने। फाइजर पेडियाट्रिक खोप सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए।

उनका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ। पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ।


 

कमेन्ट लोड गर्नुस