प्राचीन कलाकृति चोरेको आरोपमा इराकी अदालतद्वारा बेलायती नागरिकलाई १५ वर्ष जेल सजाय
काठमाडौँः प्राचीन कलाकृति तस्करी गरी देशबाहिर लैजान लागेको मुद्दामा इराकको एक अदालतले एक जना बेलायती नागरिकलाई १५ वर्षको जेल सजाय सुनाएको छ। रोयटर्सका अनुसार इराकी अधिकारीहरूले बेलायती नागरिक जेम्स फिट्टनलाई बगदाद अन्तर्राष्ट्रिय विमानस्थलबाट गत मार्चमा पक्राउ गरेका थिए।
६६ वर्षीय फिट्टन आफ्नो झोलामा प्राचीन कलाकृतिका टुक्राहरू बोकिरहेको अवस्थामा विमानस्थलबाट पक्राउ परेका थिए । साथै ती कलाकृति २ सय वर्षभन्दा पुरानो रहेको पनि बताइएको छ। बगदाद फौजदारी अदालतले फिट्टनलाई दक्षिणी इराकको सम्पदा स्थलबाट कलाकृतिहरू लिएको र आपराधिक उद्देश्यका साथु देश बाहिर लैजान खोजेकोमा १५ वर्षको जेल सजाय सुनाएको हो।
फिट्टनका वकिलले भने यस्तो गर्नुमा उनको कुनै आपराधिक उद्देश्य नभएको भन्दै अदालतको फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्। इराकमा अर्का एक जर्मन नागरिक पनि यस्तै आरोपमा पक्राउ परेका थिए। तर उनी निर्दोष सावित भइ मुक्त भइसकेका छन्। -एजेन्सी