सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेटमा अटाएन धनगढी–दीपायल फास्ट ट्रयाक

२०७९ जेठ १९, ०३:३५ कमल सावद

धनगढीः संघीय सरकारको बजेटमा धनगढी–दीपायल फास्ट ट्रयाक नअटाएको भन्दै चिन्ता व्यक्त गरिएको छ। कैलालीको धनगढीदेखि हाटखोलीसम्म साढे १३ किलोमिटर र डोटीको दीपायलदेखि बाझमोडसम्म साढे ९ किलोटिमर सडक कालोपत्रेको काम जारी रहेकोमा आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेटमा फास्ट ट्रयाकको योजना नअटाएको हो। 

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयले बजेट नपाएको द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बताए। योजना कार्यालयले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट नपाए पनि सडक विभागले रकम दिने दाबी गरिएको छ। संघीय सरकारले सडक विभागका लागि दिएको रकमबाट द्रुतमार्ग योजना कार्यालयले पनि बजेट पाउने अपेक्षा रैखोलाको छ। 

यद्यपी २२ दशमलव ८ किलोमिटर सडकको ठेक्काबाट बाँकी रहेको रकमले पुनः २७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। द्रुतमार्गको ट्रयाक निर्माणको काम पूरा भइसकेको छ। ट्रयाक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीहरु सडक ग्राभेल र सडक संरचना निर्माणको काम गरिरहेका छन्। 

यस्तै कैलालीमा साढे १३ र डोटीमा साढे ९ किलोमिटर कालोपत्रे सडक निर्माणमा भौतिक प्रगति ४० प्रतिशत पुगेको छ। २२ दशमलव ८ किलोमिटर सडक कालोपत्रेको ठेक्कामा संरचना निर्माणको काम जारी छ। असारभित्र थप २७ किलोमिटर सडक कालोपत्रेको ठेक्का सम्झौता हुने बताइएको छ। योजना कार्यालय २७ किलोमिटर सडकको ठेक्काअन्तर्गत प्राविधिक मुल्यांकन भइरहेको सूचना अधिकारी रैखोलले बताए। 

०६४ मा खुटिया–दीपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक निर्माणको काम सुरु भएको थियो। सुरुमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे गरिएकोमा पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक थपिएको हो। अहिले धनगढी–दीपायल सडकको लाम्बाइ ९२ किलोमिटर बनाइएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस