बैतडीको दशरथचन्दमा कार्यपालिकाले पूर्णता पायो, कसको बहुमत ?
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकामा नगरकार्यपालिकाले पूर्णता पाएको छ। स्थानीय निर्वाचन सम्पन्न भएपछि निर्वाचित महिला सदस्यमध्येबाट ५ जना र दलित वा अल्पसंख्यकबाट ३ जना सदस्य थप्नुपर्ने प्रावधानअनुसार कार्यपालिकाले पूर्णता पाएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।
महिला सदस्य र दलित वा अल्पसंख्य सदस्यका लागि शनिबार निर्वाचन भएको र सबैमा एमालेका उम्मेदवार चयन भएका दशरथचन्द नगरपालिका वडा नं २ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए। निर्वाचित महिला सदस्यमध्येबाट कलावती लावड, धानादेवी थलाल, वसन्ती जोशी,भुरीदेवी बिष्ट र माया पहरी कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्। यस्तै दलित वा अल्पसंख्यक मध्येबाट दिनेशबहादुर सिनाल, प्रेम दयाल र विनोदराम लुहार निर्वाचित भएका छन्।
योसंगै २१ सदस्यीय नगरकार्यपालिकामा एमालेको बहुमत भएको छ। नगर प्रमुखसहित कार्यपालिकामा एमालेका १६ जना अटाएका छन्। उपप्रमुखसहित ५ जना नेपाली कांग्रेसका अटाएका छन्। गत स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा मेयर, उपमेयरसहित कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको थियो।