सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सुपर लिगः महेन्द्रनगर र देउखुरी वारियर्स विजयी

२०७९ जेठ १२, ०६:०४ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रीकेट क्लब विजयी भएका छन्। बिहीवारको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लबले बुङगल क्रिकेट क्लब बझाङलाई ५ विकेटले पराजित गरेको छ।

धनगढीस्थित प्रदेश प्रहरीको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको बुङगलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो। १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्रनगरले १५.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि राहुल भण्डारीले ४६ र सन्दीप जोराले अविजित ३७ रनको पारी खेले। बलिङतर्फ बुङगलका गोविन्द विष्टले २ विकेट लिए। 

त्यसअघि बुङगलका लागि किरण कुमार ठगुन्नाले ५० रनको अर्धसतकीय पारी खेलेपछि त्यो जितका लागि पर्याप्त हुन सकेन। उसका सन्दीप विष्टले ३२, आदित्य महताले २० रन बनाए। बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्ट र सन्दीप जोराले समान ३/३ तथा हेमन्त धामीले २ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच सन्दीप जोरा चुनिए। 

यस्तै बिहीवारको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीमाथि दाङको देउखुरी वारियर्स क्रीकेट क्लबले ९ विकेटको जित निकाल्यो। टस जिते ब्याटिङ गर्ने निर्णय गरेको धनगढी क्रीकेट एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो। १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको देउखुरीले ११.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका सुरुवाती ब्याट्सम्यान प्रज्वल थापा र विराट भण्डारीले ८७ रनको उत्कृष्ट साझेदारी गरे। १०औँ ओभरमा विराट भण्डारी २४ रन बानाएर बोल्ड आउट हुन पुगेका थिए। प्रज्वल थापाले भने ७ चौका र ६ छक्कासहित ७७ रनको अविजित सानदार पारी खेले।  

त्यसअघि धनगढी क्रीकेट एकेडेमीका लागि अरुण ऐरीले ३२, खगेन्द्र जोशीले २३ र भोजराज भट्टले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङ तर्फ देउखुरीका प्रतिश जिसीले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ३ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच प्रज्वल थापा भए। 

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा शुक्रबार महेन्द्रनगर क्रीकेट एकेडेमी र देउखुरी वारियर्स प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलको विजेताले लिटल फ्लावरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लिटल फ्लावर यस अघि नै ५ मध्य ३ खेलमा जित निकाल्दै ७ अङकसहित फाइनल प्रवेश गरिसकेको छ। 

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जारी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 
प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरूको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस