सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले भनेः भोट खसालेको भोलिपल्टै जनतालाई मूल्यवृद्धिको डण्डाले हान्दिने ?

२०७९ जेठ १२, १२:५१ खबर संवाददाता

काठमाडौँः मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बताएका छन्। उनले चुनावसम्म पेट्रोलियम पदार्थमा विधिअनुसार चुनावका कारण मूल्य समायोजन नगरी चुनाव सकिएपछि हप्तामै दुई पटक मूल्यवृद्धि गरिएको बताए। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै ओलीले सरकारको आलोचना गरेका हुन्। 'मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०/१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ। एक हप्तामा दुई पटक, १ गते र ९ गते। एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिन्छ,' उनले व्यंग्यात्मक शैलीमा सोधे, '१५/१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो ? यो त जनतालाई धोका दिएको भयो। ३० गते भोट खसालुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ? त्यो पनि फेरि एक हप्ता नपुग्दै अर्को डण्डाले हान्दिने ?'

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने ओलीको भनाइ थियो। उनले भने, 'प्रतिलिटर पेट्रोलियम पदार्थमा हप्तामा २० रुपैयाँले वद्धि भएपछि ढुवानीलगायत सम्पूर्ण वस्तुमा असर पर्ने भयो। हरेक वस्तुको मूल्य तद्अनुसार नै हुने भयो।' मूल्यवृद्धमा वर्तमान सरकारले नकरात्मक कीर्तिमान कायम गरेको ओलीको भनाइ थियो। 'मूल्यवृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको छ। यसको पछाडि कीर्तिमान कायम गरेको छ,' नकरात्मक रुपले,' उनले भने।

कमेन्ट लोड गर्नुस