सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सुपर लिगः दाङको देउखुरी वारियर्स र कैलाली जिल्ला क्रीकेट क्लब विजयी

२०७९ जेठ १०, १०:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा जारी टी–२० क्लबक्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लबर कैलाली जिल्ला क्रीकेट क्लब विजयी भएका छन्। मङ्गलवार सम्पन्न पहिलो खेलमा बझाङको बुङगल क्रीकेट क्लबलाई १८ रनले पराजित गर्दै दाङको देउखुरी वारियर्स क्रीकेट क्लबले पहिलो खेलमै जित निकालेको हो। मौसमको खराबीका कारण १२ ओभरमा छोटाइएको खेलमा देउखुरी विजयी भयो।

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो। १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको बुङगलले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो। उसका लोकेन्द्र चन्दले ३५ र प्रकाश पाण्डेयले ३४ रन बनाए। बलिङ तर्फ देउखुरीका दिनेश अधिकारीले ३ र नारायण जोशीले २ विकेट लिए। 

त्यस अघि देउखुरीका लागि प्रज्वल थापाले ३४, सुमित श्रेष्ठले अविजित २३, नारायण जोशीले २३ र विराट भण्डारीले २१ रन बनाए । बलिङ तर्फ बुङगलका मिलनबोहरा र अशोक धामीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिनेश चुनिए। 

मङ्गलवारको दोस्रो खेलमा धनगढी क्रीकेट एकेडेमीलाई १६ रनले पराजित गर्दै कैलाली जिल्ला क्रीकेट क्लब विजयी भयो। टस जितेर ब्याटिङ थालेको कैलाली जिल्ला क्रीकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। १ सय ३४ रनको विजयीलक्ष्यसहित मैदानउत्रिएको धनगढी क्रीकेट एकेडेमीले १८.१ ओभरमाआफ्ना सबै विकेट गुमाएर १ सय १७ रन मात्रै बनाउन सक्यो। उसका कप्तान राजु रिजालले ३३ बलमा ४ छक्का र ३ चौकासहित ५१ रन बनाए। सुवास ऐरले २९ र खगेन्द्र जोशीले १४ रन बनाए। बलिङ तर्फ कैलाली जिल्ला क्रीकेट क्लबका वीरेन्द्र नाथले ३, कप्तान शेर मल्ल, श्याम सुन्दर साउद र नरेन साउँदले समान २÷२ विकेट लिए। 

त्यस अघि कैलाली जिल्ला क्रीकेट क्लबका लागि अर्जुन साउदले अविजित ३३, राजन सिंहले २७, दिनेश ओडले १९ र वीरेन्द्र नाथले १४ रन बनाए। बलिङ तर्फ डीसीएका भोजराजभट्ट, हिकमत महरा र अरुण ऐरीले समान २÷२ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ चुनिए।  

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा जारी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालनहुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाखनगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

विद्यालय स्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सुरुवात गरेको शाहीको भनाई छ। प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस