सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा विवादबारे प्रतिवेदन अध्ययनपछि आयोगले निर्णय लिने

२०७९ जेठ १०, १२:३४ खबर संवाददाता

बाजुरा: निर्वाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछि मात्रै बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना गर्ने भन्ने निर्णय लिने भएको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगलाई बूढीगंगा नगरपालिकाको स्थलगत अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ।  त्यहाँ आयोगका आयुक्त सगुनशम्शेर राणा संयोजकत्वको टोली गएको थियो।

प्रतिवेदनको अध्ययनपछि प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले के गर्ने भन्ने निर्णय लिने सहायक प्रवक्ता अर्यालले बताए। उनले भने, ‘माननीय सगुनशम्शेर जबरा नेतृत्वको स्थलगत अध्ययन टोलीको प्रतिवेदन आइसकेको छ। माननीय रामप्रसाद भण्डारी नेतृत्वको अध्ययन टोलीको प्रतिवेदन आउन बाँकी छ। प्रतिवेदनको अध्ययनपछि माननीय आयुक्तहरूको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ।’

बुढीगंगा नगरपालिकामा फेरि मतदान गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ। नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत हालेको कांग्रेसको आरोप छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले ३० वैशाखमै विज्ञप्तिमार्फत त्यहाँ फेरि मतदान हुनुपर्ने माग गरेका थिए। नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको र सो क्रममा एमाले कार्यकर्ताहरूले बुथ कब्जा गरेको भन्दै कांग्रेस मतगणनाको पक्षमा छैन।

एमालेले भने कुनै पनि मतदान केन्द्रमा धाँधली र बुथ कब्जा नभएकाले मतगणना हुनुपर्ने पक्षमा रहेको छ।

कमेन्ट लोड गर्नुस