डडेल्धुरामा कृषि अधिकृत जोशीलाई ३० किलोको मालासहित अभिनन्दन
डडेल्धुराः डडेल्धुरामा पहिलोपटक सरकारी कर्माचारीलाई अभिनन्दनसहित बिदाइ गरिएको छ। प्रधानमन्त्री आधुनिकीकरण परियोजना इकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको हो। विगत ५ वर्षदेखि आलु सुपरजोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई किसानहरुले ३० किलोको माला र बाजागजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराएर अभिनन्दन गरेका छन्।
आलु सुपरजोनमार्फत् प्रविधि प्रर्दशन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायीक आलु खेतीमा किसानहरूलाई अभिप्ररित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाँडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरूलगायत नवदुर्गा गाउँपालिकामासमेत बृहत् आलु खेती तर्फ किसानहरू व्यवसायिक बनेका छन्।
जोशी जिल्लाका विभिन्न ठाँउमा बाजो रहेको ३ सय हेक्टर जमिनमा आलु खेती गराउन सफल भएको बताइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराका प्रमुख जोशीकाअनुसार चालुवर्षमा आलु खेती गर्ने किसानहरूको संख्या विगतभन्दा तेब्बरले वृद्धि भएको छ।