सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्य ७० प्रतिशत सकियो

मुक्त कमैयाहरुलाई अन्यत्र पुर्नस्थापनामा जनप्रतिनिधिहरुको उदासिनता

२०७५ फाल्गुन २, ११:१८ खबर संवाददाता

कैलालीको गेटा स्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ। सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तिव्रता पाउँदा आगामी केही वर्षभित्रमै कलेजमा पठनपाठन सुचारु हुने आशा पलाएको छ। पहिलो चरणमा निर्माण थालिएका संरचनाहरुमा ७० प्रतिशत निर्माणको काम सकिएको छ। दोस्रो चरणका संरचना निर्माणहरुको काम भईरहँदा मेडिकल कलेजको संरचना बनाउनका लागि चाहिने जग्गामा वसेका मुक्तकमैयाहरुलाई भने अन्यत्र सार्ने काम अलपत्र परेको छ। त्यहाँ ट्रमा सेन्टर लगायतका स्वास्थ्य सेवा दिनका लागि संरचना निर्माणको योजना बनाईएकोमा जग्गा खाली नभएका कारण ती संरचनाहरु निर्माणका लागि प्रक्रिया अगाडी बढाउन समस्या भएको छ। 

निर्माण थालिएको सुरुका वर्षमा विभिन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण यो योजना कार्यान्वयन हुननेमा आशंका गरिएका वेला अहिले गेटा मेडिकल कलेजको निर्माणको कामले गति लिईरहेको छ । सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा झन्झटिलो प्रक्रियाका कारण निर्माण कार्य भने दुई वर्ष अघिदेखि मात्रै सुरु भएको थियो । मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा कलेजको तीन तले अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा त्यसमा थप संरचना निर्माणको काम पनि अगाडी बढाईएको छ । कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुई वटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा अधिकांश निर्माण कार्य पूरा भइसकेको छ । यस्तै पाँच तलाका दुई वटा छात्रावास भवनको काम पनि आधाभन्दा वढी सकिएको छ । चिकित्सकको आवास गृहको रुपमा आठ वटा भवन निर्माणको काम पनि तिव्र गतिमा भईरहेको छ। अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माणको काम भईरहेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिए । 

मेडिकल कलेज परिसरको मूल बाटो ग्राबेलको काम पनि भईरहेको छ । कलेज निर्माणस्थलको उत्तर तर्फ रहेको नदीको नियन्त्रणको कामका साथै नदी किनारमा नयाँ सडक निर्माणको काम पनि सँगसँगै गर्न लागिएको छ । चालु वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको कामका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । विभिन्न निर्माण कम्पनीहरुले फरक फरक संरचना निर्माणको काम गरिरहेकोले त्यहाँ काम गर्न कुनै समस्या नरहेको बताएका छन् । उनीहरुले काममा अहिलेको जस्तै सहजता भएमा र कुनै अवरोध नआएमा निर्माणको काम चाँडो सकिने जनाएका छन । संरचना निर्माण गरिररहेका निर्माण व्यवसायी मध्येका एक जना निर्माण व्यवसायी भीमवहादुर पालले बताए । गेटा मेडिकल कलेज छ सय शैययाको निर्माण गर्ने लक्ष्य छ । कलेजको पहिलो चरणमा निर्माणाधीन अन्य कतिपय भौतिक पूर्वाधारको काम आर्थिक वर्ष २०७७÷ ७८ मा पूरा गर्ने लक्ष्य छ । भौतिक संरचना निर्माणका लागि हालसम्म चार अर्बको ठेक्का भएर कामले तिव्रता पाएका वेला चालु आर्थिक वर्षमा थप एक अर्ब बराबरका संरचना निर्माणका लागि ठेक्का दिईएको छ । कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस र रविना कन्ट्रक्सन संलग्न रहेका छन् । कलेजको भोग अधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिगाहा जग्गामा मुक्तकमैया परिवारको बसोवास छ । उनीहरुलाई समयमै अन्यत्र पुनःस्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा सो ठाउँमा संरचनाको निर्माण कार्य भने अन्यौलमा रहेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिए । 

मुक्तकमैया बसेको जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ । तर सम्बन्धित नगरपालिकाले उनीहरुलाई अन्यत्रै बसोवास गराउन अहिलेसम्म पहल नगर्दा संरचना निर्माणमा समस्या सिर्जना भएको छ । यसका लागि सरकारी अधिकारीहरुले प्रक्रिया अगाडी बढाएकोमा स्थानीय तहमा जन प्रतिनिधि मुक्तकमैयालाई अन्यत्र सार्ने काम हुन सकेको छैन् । यसले संरचना निर्माणको कामलाई अगाडी बढाउनका लागि टेण्डर गर्न पनि समस्या भईरहेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक पुजारा बताउँछन् । प्रदेशमा मेडिकल कलेजको छलफल सुरु भएको झण्डै तीन दशकपछि कैलालीको गेटामा मेडिकल कलेजको सपना साकार हुने देखिएको छ । ४ अर्ब लागतमा ६ प्याकेजका २७ भौतिक संरचना निर्माणामा तिव्रता दिइएको छ । २६ बर्ष अघि सुदूरपश्चिममा मेडिकल कलेजको स्थापनाका लागि छलफल शुरु भएकोमा त्यसले मुर्त रुप पाएपछि यसक्षेत्रको स्वास्थ्य क्षेत्रमा धेरै ठुलो राहत पुग्ने आशा गरिएको छ । 

कमेन्ट लोड गर्नुस