सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दोस्रो इनिङ गर्न चाहनेका सपना चकनाचुर, जनताले गरिदिए आउट 

२०७९ जेठ ७, ०३:४७ नारायण अवस्थी

धनगढी: गत निर्वाचनमा सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहमा विजयी बनेका दलहरुलाई यसपटक शाख जोगाउन हम्मेहम्मे परेको छ। प्रदेशका अधिकांश पालिकामा जनप्रतिनिधिसँगै राजनीतिक दलको नेतृत्वमा पनि मतदाताले परिवर्तन खोजेको देखिएको छ। यो पटक प्रदेशका अधिकांश स्थानीय तहमा पार्टी र जनप्रतिनिधि परिवर्तन भएका छन्। 

काँग्रेस र कम्युनिष्टका गढ र किल्ला भनेर चिनिने पालिकामा २०७९ को स्थानीय तह निर्वाचन परिणामले वर्चस्वमा फेरबदल भएको देखाएको छ। यसैगरी वडादेखि पालिकासम्मको नेतृत्वमा दोहोरिन चाहने व्यक्तिलाई यो पटक चुनाव जित्न निकै मुस्किल भएको छ। 

प्रदेशका केही पालिकामा यसअघि निर्वाचित भएका पालिका प्रमुख–उपप्रमुखले चुनाव जिते पनि धेरैजसोको लगातार दोस्रो पटक चुनाव जित्ने सपनामा मतदाताले अंकुश लगाएका छन्। पहाडी जिल्लाका केही स्थानीय तहमा दोस्रो कार्यकालका लागि दोहोरिने अवसर मिलेको भए पनि कैलाली र कञ्चनपुरमा भने बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी बाहेक अन्य दोहोरिने सम्भावना न्यून देखिएको छ।

डडेल्धुराको अमरगढी नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा उपप्रमुखमा विजय प्राप्त गरेकी नेकपा समाजवादीको नेता संगीता भण्डारीलाई पार्टीले यो पटक नगरप्रमुखको उम्मेदवार बनाए पनि भण्डारीको धरौटी जफत भएको छ। डडेल्धुराकै आलिताल गाउँपालिका र नवदुर्गामा पुनः उम्मेदवारी दिएका बलबहादुर गुरुङ र कविन्द्र विष्टलाई यो पटक जनताले पत्याएनन्। 

उता दार्चुलाको महाकाली नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट २०७४ मा प्रमुख भएका हंसराज भट्ट र शैल्यशिखरका अमरसिंह धामी दोस्रो कार्यकालका लागि जनतामाझ गठबन्धन गरेर गए पनि चुनाव जित्न असफल भएका छन्। महाकाली नगरपालिकामा एमालेका नरिसंह चैसिरले भट्टलाई पाराजित गरेका छन् भने शैल्यशिखरमा पनि एमालेका विजय सिंह धामीले अमरसिंह धामीलाई मेयरमा दोहोरिन दिएनन्।

कैलाली र कञ्चनपुरमा दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले अप्रत्यासित हार बेहोरेका छन्। कञ्चनपुरको वेदकोटमा यसअघि उपप्रमुख रहेको सुशीला सिंहले यो पटक नगर प्रमुखमा जित हात पार्न सकिनन्। कञ्चनपुरको लालझाडी गाउँपालिकामा अध्यक्ष रहेका मदनसेन बडायक यो पटक पराजित भएका छन्। बडायकलाई यो पटक नेकपा एमालेका निर्मल रानाले पराजित गरेका हुन्। 

कैलालीकै कैलारी गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्षमा दोहोरिन चाहेका नेकपा माओवादी केन्द्रका लाजुराम चौधरी र लक्ष्मी सत्गौवा थारू पराजित भएका छन्।  घोडाघोडीमा नगरप्रमुखमा दोहरिन चाहेका एमाले नेता ममताप्रसाद चौधरीको पराजय भएको छ। यसैगरी प्रदेशको एक मात्र उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि गठबन्धनको तर्फबाट चुनाव लडेका नृपबहादुर वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले पछाडि पारेका छन्। 

डोटी जिल्लामा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा र बोगटान फुडिसलमा कमल गडसिला भने दोहोरिएका छन् भने बैतडीमा पञ्चेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा क्रमशः गोरखबहादुर चन्द र विना भट्ट दोहरिएका छन्। यसैगरी बैतडीको दोगडाकेदारमा चक्र कार्की र सिगास गाउँपालिकामा हरिसिंह धामी पनि अध्यक्ष दोहरिएका छन्। डडेल्धुराको अजयमेरुमा माओवादी नेता उमेशप्रसाद भट्ट पनि पालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस