कैलालीको मोहन्यालमा नेतृत्वसहित ६ वडा गठबन्धनले जित्यो, एमाले एकमै सीमित

धनगढीः मोहन्याल गाउँपालिकाको अध्यक्ष नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय ‘हिमशिखर’ विजयी भएका छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। उनी ४१९ मतान्तरले विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरे।
थापा २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए। तर, एमालेका नवलसिंह रावल (हाल स्वर्गीय) सँग पराजित भए। यो पटक उनी उमाले प्रवेश गरेर पुनः अध्यक्षका उम्मेदवार बने पनि जित हात पार्न सकेनन्। त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका कमल साउद निर्वाचित भएका छन्। उनले तीन हजार ३३९ मत प्राप्त गरे । उनका निकतम् प्रतिद्वन्द्वी एमालेका सरस्वती देवी रावल विष्टले दुई हजार ३०३ मत प्राप्त गरिन्। मोहन्यालमा पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस–माओवादीले गठबन्धन गरेको थिए भने वडामा प्रतिस्पर्धा गरेका थिए।

वडामा कांग्रेस–माओवादीको वर्चश्व, एमालेले एक वडा जित्यो

मोहन्यालका सातमध्ये ६ वडामा कांग्रेस–माओवादीका उम्मेदवार विजयी भएका छन्। कांग्रेसले सबैभन्दा धेरै चार वडा जितेको छ भने माओवादी दुई वडामा विजयी भएको छ। कांग्रेसबाट वडा नम्बर ७ मा नवराज कठायत, ३ मा नन्दराम गिरी, ५ मा प्रविण घर्तिमगर र १ मा पिरम बुढा निर्वाचित भएका छन्। माओवादीले वडा नम्बर २ र ४ मा विजय हासिल गरेको छ । २ मा माओवादीका जय प्रकाश मल्ल र ४ मा बम बहादुर बुढा मगर विजयी भएका छन्।

एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ। ६ मा एमालेका कृष्ण शाही विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित तीन वडा जितेको थियो भने माओवादीले पनि समान तीन वडामा जित हात पारेको थियो। कांग्रेसले एक वडा जितेको थियो।
