मुख्यमन्त्री भट्टको गृहपालिका केआईसिंहमा काँग्रेस विजयी
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोकेन्द्रबहादुर शाही विजयी भएका छन्।
उनी ४२६२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३६२ मत मात्रै प्राप्त गरे। उपाध्यक्षमा पनि काँग्रेसकै मिनादेवी विष्ट विजयी भएकी छिन्। उनी ४०७२ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन्।
केआईसिंह एकीकृत समाजवादीकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको गृहपालिका पनि हो। केआईसिंहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो। गाउँपालिकाका सात ओटा वडाहरुमध्ये चार वडामा काँग्रेस, एक/एक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन्।
डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जसमा ६ पालिकामा काँग्रेस विजयी भएको छ भने एमाले र माओवादी एक/एक पालिकामा विजयी भएका छन्।