बाजुरामा जित्ने र हार्ने सँगसँगै विजय र्यालीमा काँध चढेपछि...
बाजुराः चुनावको नतिजापछि विजेतालाई मतदाताहरुले हर्षबढाइँका साथ विजयोत्सवमा काँध चढाएर परिक्रमा गराउने आम प्रचलन हो। तर बाजुराको गौमुल गाउँपालिकामा अध्यक्ष पदका विजेता र उपविजेता दुवैलाई मतदाताहरुले विजय ऱ्याली काँध चढाएर खुसीयाली मनाएका छन्।
वडादेखि पालिकासम्म सबै पदमा एमालेको प्यानलै विजयी भएको गौमुलमा अध्यक्ष पदमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया विजयी भएका हुन्। उनीहरुसँग कांग्रेसका हिरेन्द्र रोकाया र उमादेवी रोकाया पराजित भएका थिए। जिल्लाकै अन्य केही पालिकाहरूमा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप र तनावका घटना भइरहँदा गौमुलमा कार्यकर्ता र उम्मेदवारले प्रस्तुत गरेको शैली र व्यवहारलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।