बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
धनगढी: बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको छ। सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको हो।
बुढीगंगा नगरपालिका-४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ। प्रहरीका अनुसार कटुवालसँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापा पनि सामान्य घाइते भएका छन्।खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडीमालिका नगरपालिका-२ का नरेन्द्र नाथ र लोकेन्द्र कार्कीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता गिन्द्र बोगटीले बताए। उनले खुकुरीसमेत बरामद गरिएको बताएका छन्।
मार्तडीमा आइतबार राति एमाले र काँग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो। प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो।