दार्चुलामा झडप हुँदा एमालेका अध्यक्ष उम्मेदवार घाइते
धनगढी: दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छन्। जिल्लाको दुहु गाउँपालिका–५ चल्लेगडामा मंगलबार बेलुका झडप भएको हो।
झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मानसिंह बडाल घाइते भएका प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रचारबाट फर्किने क्रममा बडाललाई सत्तारुढ गठबन्धनका मानबहादुर कुँवर लगायतको समूहले आक्रमण गरेको थियो।
उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। झडपको कारण भने नखुलेको र घटनामा संलग्न फरार रहेका कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। उनीहरुको खोजी भइरहेको उनले बताए।