डडेल्धुरा पुगेर देउवाले भने, ‘खै पश्चिम सेती भनेर झुट बोलेर हुन्छ, ख्याल ठट्टा हो यो ?’
धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले दशकौँ सम्म अघि नबढेका योजनाहरू अघि बढाएको बताए। चुनावी दौडधुपमा गृहजिल्ला पुगेका देउवाले मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले अरूले विकासको गफ मात्रै गर्ने गरेको उनले उल्लेख गरे। ‘देशको विकास गर्ने पार्टी भनेको कांग्रेस मात्रै हो, अरूले विकास गफ गर्छन् तर कहीँ गर्दैनन्, महाकाली, पञ्चेश्वर ल्याएर छोड्छु’, उनले भने, ‘खै पश्चिम सेती भनेर झुट बोलेर हुन्छ। ख्याल ठट्टा हो यो ?’
पश्चिम सेतीका लागि भारतसँग कुरा भइरहेको बताउँदै उनले छिटै सम्झौता हुने पनि बताए। ‘अब मोदीजी लुम्बिनी आउँदै हुनुहुन्छ, त्यही बेला यसै वर्ष सम्झौता गर्ने भनेका छौँ,’ उनले भने।