सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकदिवसीय क्रिकेट सिरिज नेपाललाई

२०७९ वैशाख २६, ०७:५४ रासस

काठमाडौँ: जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ। नेपालले उक्त सिरिज २–१ ले जितेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो। तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ तीन विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटले जीत हासिल गरेको थियो। 

आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। जिम्बावेले ब्याटिङ गर्दै सवै विकेट गुमाएर नेपाललाई २१४ रनको लक्ष्य दिएको थियो। नेपालले ३० दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍यो। नेपालको जीतमा कुशल भुर्तेलले सर्वाधिक ८४ रनको योगदान दिए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ६०, आसिफ शेखले २९ तथा विनोद भण्डारीले २८ रन बनाए।

बलिङतर्फ जिम्बावेका ब्रान्डन माभुताले तीन र ब्राड इभान्सले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो। जिम्बावेका लागि टाडिवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए। यस्तै कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वीले १९ रन बनाए।

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए। सोमपाल कामीले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए। यसअघि नेपाल र जिम्बावे ‘ए’बीच तीन टी–ट्वान्टी सिरिज सम्पन्न भएको थियो। उक्त सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए। एउटा खेल वर्षाका कारण रद्द भएको थियो। आइसिसी क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नपालले जिम्बावे ‘ए’सँग खेलेको हो।

कमेन्ट लोड गर्नुस