देश विकासका लागि एमालेलाई मत दिन नेता भट्टको आग्रह
डोटी: नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्।
नेकपा एमाले डोटीले जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्। उनले दार्चुलाको महाकालीमा भारतीय एसएसबीका सेनाले तुइनको डोरी काटेको घटनादेखि सुदूरपश्चिमका नागरिकका हरेक समस्यामा एमाले साथमै रहेको बताए।
उनले देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाएका प्रसङ्ग उल्लेख गर्दै यो फुटबाट एमालेलाई कुनै असर नगर्ने दाबी पनि गरे। पूर्वमन्त्री भट्टले एमाले सरकारमा रहँदा स्थानीय क्षेत्रमा धेरै विकास गरेको दाबी पनि गरे। त्यसैले पनि नागरिकले एमालेलाई मत दिने तर्क उनले गरे।
उनले आफ्नो गाउँठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहनसक्ने उम्मेदवार छान्न आग्रह गर्दै भने, “स्थानीय तह भनेका तपाईँहरुका घरआँगनकै सरकार हुन्, त्यसैले आफ्ना हरेक पलमा काम लाग्ने र सहयोगी उम्मेदवार छान्नुहोला।”