मतदाता रिझाउने अन्तिम कसरतमा बैतडीका उम्मेदवार
बैतडीः आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार आफ्नो पक्षमा भोट माग्न अन्तिम कसरतमा छन्। मत खसाल्ने दिन नजिक आएका बेला उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिँदै अन्तिम कसरतमा जुटेका हुन्। जिल्लाका १० वटै स्थानीय तहमा उम्मेदवार भोट माग्न अहिले घरदैलो अभियानमार्फत अन्तिम कसरतमा रहेका नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए। चुनावी तालमेल भएका पालिकामा संयुक्तरुपमा चुनावीसभा र घरदैलो अभियान सञ्चालन भइरहेको चन्दको भनाइ छ।
प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो अभियान सञ्चालन गरेर मत मागिरहेको दोगडाकेदार गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज जोशीले बताए। जनताको आवश्यकताअनुसार प्रतिबद्धतापत्र बनाएको र स्थानीयका समस्या बुझ्ने र भोट माग्ने उद्देश्यसहित घरदैलो गरिरहेका उनको भनाइ छ। यस्तै नेकपा एमालेले पनि १० वटै स्थानीय तहका उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिएको जनाएको छ। निर्वाचनको मिति नजिकिएसँगै मत माग्ने कार्यलाई अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार चक्र कार्कीले बताए।
जिल्लाका सबैजसो ठाउँमा आफ्ना उम्मेदवार आफ्ना चुनावी एजेण्डासहित घरदैलोमा व्यस्त रहेका चन्दको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शङ्कर भण्डारीले बताए। नेकपा (एकीकृत समाजवादी) पनि मत माग्न अन्तिम कसरतमा जुटेको उक्त पार्टीका जिल्ला इञ्चार्ज प्रमानन्द भट्टले बताए। राप्रपाले पनि जिल्लाका विभिन्न ठाउँमा चुनावीसभा सम्पन्न गरेको र हाल घरदैलो अभियानमा रहेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए। यस्तै जिल्लामा स्वतन्त्र उम्मेदवारले पनि चुनावी अभियानलाई अन्तिम चरणमा पुगेको बताएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका सन्तोसप्रकाश जोशीले घरदैलो अभियानलाई तीव्रता दिएको जनाए। घरदैलो अभियानका साथै साङ्गीतिक कार्यक्रमसहित चुनावीसभाको आयोजना गरिएको छ।
वैशाख २६ गते सिमार र २७ गते धामीगाउँमा साङ्गीतिक कार्यक्रम राखिएको उनले बताए। जिल्लाका केही स्थानीय तहमा दलले चुनावी तालमेल गरेका छन् भने केही स्थानीय तहमा एक्लै चुनावी मैदानमा रहेका छन्। एमालेले सुर्नयामा राप्रपासँग चुनावी तालमेल गरेको छ। गठबन्धन दलले जिल्लाको दोगडाकेदार, पञ्चेश्वर र डिलाशैनी गाउँपालिकामा तालमेल गरेको छ। जिल्लाका १० स्थानीय तहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष र ३३६ वडा सदस्य गरी ४४० पदका लागि निर्वाचन हुँदैछ।