एसियाली खेलकुद स्थगित
काठमाडौँ: चीनको हानझाउ शहरमा आयोजना हुने भनिएको १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ। चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो।
चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो। तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ।
नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो। उक्त प्रतियोगिताको लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ।