कैलालीको गौरीगंगामा को होला मेयर ?
धनगढीः ०७३ सालमा स्थापना भएको कैलालीको गौरीगंगा नगरपालिकामा चुनावी माहोल तातेको छ। गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको नगरमा मतदाता रिझाउन उम्मेदवार सक्रिय छन्।
०७४ सालको निर्वाचनमा नेकपा एमालेका भीमबहादुर देउवा मेयरमा विजयी भएका थिए। उनले माओवादी केन्द्रका उम्मेदवार देविदत्त कडेललाई ५१ मतले पराजित गरेका थिए। कडेल वैशाख ३० गते हुने निर्वाचनका लागि गठबन्धनबाट फेरि उम्मेदवार छन्। माओवादी केन्द्रका नेता कडेललाई ०७४ सालको निर्वाचनमा तेस्रो भएको दल नेपाली काँग्रेसको पनि समर्थन छ।
०७४ सालको निर्वाचनको मतपरिणामको आकलन गर्दा कडेल एमालेका उम्मेदवार पदमसिँह सिगालभन्दा बलिया देखिएका छन्। गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार कडेललाई आफ्नो कसैसंग प्रतिस्पर्धा नै नरहेको लाग्छ। ‘मेयरमा विजयी भएपछि गौरीगंगा नगरपालिकामा रहेको स्रोतलाई विकास निर्माणमा प्रयोग गर्नेछु,’ उनले भने, ‘हाम्रो नगरपालिका, राम्रो नगरपालिकाको हो भन्ने विश्वस्त दिलाउछु।’
नेकपा एमालेले पाँच वर्ष जनताको काम गरेकाले पुनः नगर प्रमुखमा आफ्नो उम्मेदवार विजयी हुने दाबी गरेको छ। काँग्रेसका नगरस्तरीय नेताहरु तथा माओवादी केन्द्र बाहेकका मतदाताको सहयोग पाउने अपेक्षा पनि एमालेको छ। मतदाताको संख्या पनि वृद्धि भएको र काँग्रेस, समाजवादी पार्टीका मतहरु पनि नेकपा एमालेका उम्मेदवार सिगाललाई आउने दाबी एमालेले गर्दै आएको हो। नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार सिगालले मेयरमा विजयी भएप िजनताका आकाङ्क्षालाई प्राथामिकता दिने बताए।
२०७४ को निर्वाचनमा एमालेका भीम देउवाले ५ हजार ८८१ मत ल्याँउदै विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार कडेलले ५ हजार ८३० मत ल्याएका थिए। नेपाली काँग्रेसका उम्मेदवार दिनेशराज जोशीले ५ हजार ३९२ मत ल्याएका थिए। वैशाख ३० गते ४० हजार १८ मतदाताले गौरीगंगा नगरपालिकामा मतदानको अधिकार पाएका छन्।
कडेल र सिँगालसँगै स्वतन्त्रबाट भानबहादुर ठकुन्ना, मौलिक जरोकिलो पार्टीबाट सावित्री गिरी र राप्रपाबाट सुवाश कुँवरले गौरीगंगाको नगर प्रमुखमा उम्मेदवारी दिएका छन्। नगर उपप्रमुखका लागि चार जनाको उम्मेदवारी छ। राप्रपाबाट कमला बोहरा, मौलिक जरोकिलो पार्टीबाट चेतराज साउँद, नेपाली काँग्रेसबाट भोजबहादुर बम र नेकपा एमालेबाट शान्तिदेवि सिंहले उपप्रमुखमा उम्मेदवारी दिएका हुन्।